फेरियो लाइसेन्स ट्रायलको नियम

काठमाडौं, पुस २१ । लाइसेन्सका लागि दिइदैँ आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत भएको छ । बिहिबारदेखि लागू हुने गरी यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्स लिनका लागि लिने ट्रायल परीक्षाको ढाँचा परिवर्तन गरेको हो ।

नयाँ ढाँचामा केही बढी परीक्षा पास गर्नुपर्ने भएको छ ।

यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने कार्यालयका प्रमुख तेजनायण यादवले बताए।

‘सेवाग्राहीको चापलाई ध्यानमा राखेर कार्यालयले यस्तो निर्णय गरेको हो,’ यादवले भने, ‘शुरुमा अंग्रेजी अङ्क आठ आकारमा ट्रायल लिँदा यसले धेरै समय लिने भएकोले सेवाग्राहीले धेरैबेर कुर्नुपर्ने भयो। तर, शुरुमा टी पार्किङबाट ट्रायल शुरु गर्ने हो भने त्यसमा कम समय लाग्ने र पास भएर जानेले मात्र आठ आकारमा ट्रायल दिन पाउने भएकोले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न सहज हुन्छ।’

उनका अनुसार शुरूमै 8 अाकारमा परीक्षा लिँदा एक सेवाग्राहीलार्इ कम्तीमा पनि १० मिनेटसम्म अर्काे सेवाग्राहीले कुर्नु पर्ने हुन्थ्याे। तर, शुरूमा टी पार्किङकाे परीक्षा लिँदा एउटा सेवाग्राहीलार्इ ३ मिनेटभन्दा बढी समय लाग्दैन। र, टीमा पास हुनेले मात्र 8 मा जान पाउने भएकाेले चाप व्यवस्थापनमा सहयाेग मिल्न सक्छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: