काठमाडौं, पुस २२ । एमाले नेतृत्वमा नौ दलीय गठबन्धनले आज शक्ति प्रदर्शन सहित गर्ने विरोधसभाको लागि राजधानीको चालीस ठाउँबाट जुलुस निकाल्ने भएकाे छ ।
विशाल जुलुसमा नौ दलको नेताहरुले नेतृत्व समाल्ने भएका छन् । रत्नपार्कदेखि निस्कने जुलुसको नेतृत्व एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।
राजधानीको प्रदर्शनीमार्गमा हुने विरोधसभाका लागि वीच सडकमै मञ्च बनाएका छन् । जसकारण ११ बजेपछि राजधानीको यातायात अवरुद्ध भएको छ ।
एमालेसहित ९ दलको विरोधसभा दिउँसो ३ बजे राष्ट्रियसभा गृह अगाडिको वीच सडकमै हुने भएको छ । सो सभाहुनअघि मध्यान्ह १ बजे रत्नपार्क आइपुग्ने गरी राजधानीका विभिन्न ४० ठाउँबाट जुलुसहरु निस्कने भएका छन् ।
रत्नपार्कबाट मूल जुलुस दिउँसो डेढ बजे सुरु हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।
उपत्यकाका विभिन्न ठाउँबाट निस्कने ४० वटा जुलुसमध्ये एमालेका ३० वटा जनवर्गीय संगठनका बेग्लाबेग्लै जुलुस हुनेछन् । त्यसैगरी उपत्यकाका १५ निर्वाचन क्षेत्रका निर्वाचन कमिटीले बेग्लाबेग्लै जुलुस निकाल्ने एमालेले जनाएको छ । त्यस्तै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीका बेग्लाबेग्लै जुलुस हुनेछन् । विभिन्न जिल्लाका सम्पर्कमञ्चहरुको अर्को जुलुस हुनेछ ।
परिवार दल, नेमकिपा, राष्ट्रिय जनमोर्चा र मालेले पनि बेग्लै जुलुस निकाल्ने र रत्नपार्कमा मिसिने समझदारी भएको एमालेले जनाएको छ ।
यसै क्रममा राजधानीका विभिन्न ठाउँको ट्राफिक व्यवस्थापनमा गर्न गाह्रो हुने निश्चित छ ।
रत्नपार्कबाट केपी ओलीसहित ९ दलका शीषै नेताको अगुवाइमा सुरु हुने मूल जुलुस पुरानो बसपार्क र भद्रकाली हुँदै सहीद गेट, न्युरोड गेट, भोटाहिटी, बागबजार र पुतलीसडक हुँदै प्रदर्शनीमार्ग आइपुगेपछि सभामा परिणत हुनेछ ।