‘एघारौं पटकमा समातिएँ’ : यसअघि नै ३ सय किलो सुन उम्काएको बयान

काठमाडौ, पुष २३ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् ।

बिहीबार ३३ किलो सुनसहित प्रहरीले पक्राउ गरेका शाहीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमेत खोलेको सीआईबी स्रोतले उल्लेख गरेको छ ।

दुबईका कारोबारीसँगको साँठगाँठमा नेपालमा सुन तस्करी गर्दै आएका नेपालगन्जका शाहीबारे सीआईबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो । ‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ’, शाहीको बयान उद्धृत गर्दै सीआईबीका एक उच्च अधिकृतले भने ।

शाहीले प्रहरीलाई उपत्यकामा बसेर तस्करीमा सेटिङ गर्ने केही व्यापारी र भारतीय व्यापारीका नामसमेत खुलाएको स्रोतले बताएको छ । सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले घटनामा ठूला व्यापारी, विमानस्थलकै उच्चपदस्थ कर्मचारी र अन्य गिरोहको मिलोमतोमा सुन बाहिरिएको दाबी गर्दै अनुसन्धानले पूर्णता नपाएसम्म बरामद सुन राजस्व अनुसन्धान विभागको जिम्मा नलगाउने बताए ।

उनले भने, ‘बिहीबार बरामद सुन तस्करले पहिलो प्रयासमा विमानस्थलबाट बाहिर ल्याउन सफल भएका होइनन् । यसमा ठूलै मिलोमतो छ । विस्तृत अनुसन्धान गरेर मात्रै सुन राजस्वलाई बुझाउँछौं ।’ गृह मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले तस्करीमा जोसुकै संलग्न भए पनि कारबाही गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र डीआईजी सिलवाललाई निर्देशन दिए । ‘यो घटनामा कोको प्रहरी, भन्सारका कर्मचारी र व्यापारी मिलेका छन्, सबैलाई कारबाहीको दायरमा ल्याउनुस्’, अर्यालले भने ।

विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले सुरक्षा निकायको जिम्मेवारी पन्छाउँदै यो घटनामा भन्सार बढी जिम्मेवार रहेको दाबी गरे । उनले भने, ‘भन्सारमा सामान पुगेपछि प्रहरीले खोलेर हेर्न मिल्दैन ।

भन्सारका २९ कर्मचारीलाई ड्युटीमा रोक
त्रिभुवन विमानस्थलमा भन्सार कार्यालयमा खटिएका २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाइएको  छ ।

बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म खटिएका उपसचिवदेखि पियनसम्मका २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाइएको जानकारी प्रमुख भन्सार प्रशासक नारायणप्रसाद सापकोटाले दिए । उनले भने, ‘यो घटनामा भन्सारलाई मात्रै मुछिएकाले अनुसन्धानका लागि प्रमाण लुकाउने आशंकामा २९ जना कर्मचारीलाई ड्युटीमा रोक लगाएर अन्यलाई खटाइएको छ ।

‘मान्छे एयरअरेबियाबाट बुधबारै राति आएको र सुन बोकेको लगेज बिहीबार आएको भन्ने छ । अर्को सुनसहित मान्छे बुधबारै आएको भन्ने पनि छ । हामी सीसीटीभी फुटेजका आधारमा छानबिन गरिरहेका छौं’, सापकोटाले भने ।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: