काठमाडौं, पुस २३ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई पदमुक्त गरेको छ । त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा लापरवाही गरेको आरोपमा उनीहरुलाई पदमुक्त गरिएको विभागले जनाएको छ ।
यही पुस २१ गते विमानस्थलको सुरक्षा घेरा पार गरेर ३३ किलो सुन बाहिर ल्याउन सफल भएको तीन जनाको टोलीलाई काठमाडौंको पिङ्गलास्थानबाट सुनसहित पक्राउ गरेपछि एयरपोर्ट भन्सारका २९ जना कर्मचारीलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा कार्यालय सहयोगीदेखि उपसचिवसम्मका रहेका छन् । उनीहरुलाई विभागमा काम गर्न रोक लगाइएको विमानस्थल विभागले जनाएको छ ।
विमानस्थल भन्सारमा उनीहरुलाई हटाएर अहिले अरु नै कर्मचारी खटाइएको छ। ड्युटीका क्रममा लापरवाही गरेको भन्दै भन्सार कार्यालयले उनीहरुलाई काम गर्न रोकेको बताएको छ। सुन काण्डपछि विभागले भन्सार विभागकै उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले पुस २१ गते साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो। सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।