बजेट अभावले बनेन इलाम बसपार्क

इलाम, पुस २३ । इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण सुरू भएको पाँच वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन । ट्राफिक जाम व्यवस्थापनसँगै यात्रु र स्थानीयवासीलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा सुस्त गतिमा मात्र काम भएको छ ।

आव २०६८–६९ मा नै निर्माण सुरू भएपनि अपेक्षित बजेट नहुँदा काम ढिलो भइरहेको छ । इनपा–३ सेरामा निर्माणाधीन बसपार्कको काम पूरा गर्न कुल रु.१० करोड लाग्ने अनुमान गरिरएको छ ।

तर, हालसम्म रु.चार करोडमात्र निकासा भएको छ । सहरी विकास तथा आवास डिभिजन कार्यालयले दुई वर्षमा काम सक्ने लक्ष्य राखेर काम अघि बढाएपनि बजेट अभावले समस्या भएको जनाएको छ ।

ग्रिन बिल्डिङको अवधारणाअनुसार बसपार्क निर्माण हुने कार्यालयले जनाएको छ । घेराबारा गर्नेसहित एप्रोज र इन्ट्रान्स रोडको काम सकिएको बसपार्कको तल्लो तहको काम भइरहेको छ ।

पानी व्यवस्थित गर्ने काम पनि यससँगै सम्पन्न हुने कार्यालयले जनाएको छ । ‘पर्याप्त बजेट नआएका कारण लक्ष्यअनुसार काम सम्पन्न गर्न नसकिएको हो,’ इन्जिनियर सुवर्ण चौधरीले भने । ‘निर्माण पूरा भएपछि १८ वटा बस राख्न सकिने छ ।’

बसपार्क क्षेत्रमा १२ वटा ट्याक्सी पार्किङ गर्न सकिने छ । बजारदेखि करिब दुई किलोमिटर टाढा रहेको बसपार्क बजारबासीका लागि अपायक भएको गुनासो छ ।

‘नगरपालिकाले समग्र भूगोललाई हेर्नुपर्छ,’ कार्यकारी अधिकृत महेन्द्र खाम्याङले भने– ‘बजार क्षेत्रमा व्यवस्थित बसपार्क बनाउने ठाउँ नभएको र बढ्दो सवारी साधनका कारण पनि यो स्थान नै उपयुक्त हो ।’

बजार क्षेत्रमा रहेको हालको बसपार्कलाई ट्याक्सी पार्कको रूपमा प्रयोग गर्ने इलाम नगरपालिकाले जनाएको छ ।

बसपार्क निर्माण सुरू भएपछि त्यस क्षेत्रमा जग्गाको मूल्यवृद्धि हुनुका साथै धमाधम घर निर्माण हुने क्रमसमेत बढेको स्थानीय महेन्द्र चौहानले बताए ।

रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: