एयर अरेबियाबाट नेपाल ल्याइएको बाँकेका गोपाल बहादुर शाहीले ल्याएको झण्डै ३४ किलो अवैध सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेपछि विमानस्थलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । नेपालको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा घेरा नाघेर बाहिर आएपछि सिआईबीले पक्राउ गरेको हो ।

विमानस्थलको सुरक्षा घेरा तथा भन्सारलाई पार गरी दुई वटा सुटकेसमा बन्द गरिएको ३४ किलो सुनलाई शंका लागेपछि सोधपुछ गर्ने क्रममा पिंगलास्थानबाट सुनसहित शाह पनि पक्राउ परे । शाहले फोन गरेपछि सुन लिन आएका व्यापारीहरु मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले पनि समातिए ।
सुटकेसबाट २८२सुनका बिस्कुट, १९ औंठी र १८ सिक्रीसमेत गरी कुल ३४ किलो सुन बरामद गरियो ।
कसरी सम्भव छ यस्तो ?
यति धेरै सुन एयरपोर्ट भन्सार तथा त्यहाँको सुरक्षा घेराबाट कसरी बाहिर आयो त ? सबैको मनमा प्रश्न उठेको छ । जबकि विमानस्थलमा ल्याइएको हरेक सामान तीनचारवटा स्थानमा चेक हुन्छ । एक्सरे गरिन्छ, विमानस्थलभित्र पस्दा र त्यहाँबाट निस्कँदा पनि सामान चेक जाँच गरिन्छ । सुरक्षा व्यवस्था कडाइका लागि सुरक्षाकर्मी तथा सादा पोसाकमा प्रहरीसमेत परिचालित हुन्छन् । त्यसका बाबजुद सबैको आँखा छलेर यति ठूलो परिमाणमा अवैध सुन नेपाल भित्रिन्छ र यत्तिका सुरक्षा घेरा तोडेर बाहिरिन्छ । यसबाट विमानस्थलको सुरक्षा व्यवस्थामाथिको ठाडो प्रश्न उठेको छ ।
सुरक्षा व्यवस्था कडाइका लागि सुरक्षाकर्मी तथा सादा पोसाकमा प्रहरीसमेत परिचालित हुन्छन् । त्यसका बाबजुद सबैको आँखा छलेर यति ठूलो परिमाणमा अवैध सुन नेपाल भित्रिन्छ र यत्तिका सुरक्षा घेरा तोडेर बाहिरिन्छ ।
यदि सुनको स्थानमा विष्फोटक पदार्थ या हतियार यसरी नै बाहिर आएको भए ? को जवाफदेही हुन्थ्यो त्यसका लागि । केन्द्रिय अनुसन्धान ब्युरोका डिआईजी नवराज सिलवालले यसबारे अनुसन्धान भइरहेको बताएपनि यो विषयलाई गम्भीरतापूर्वक लिएको देखिँदैन । कर्मचारीलाई कार्वाही यसको समाधान होइन । यस्तो बारम्बार किन हुन्छ, त्यो खोजी गरेर संयन्त्रलाई नै चुस्त बनाउनुपर्ने आवश्यकता हो । तर राज्यको संयन्त्रले यो विषयमा शक्तिशाली छानबीन आयोग समेत गठन गरेको छैन ।
पहिलोपटक होइन यस्तो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा लापर्वाही भएको यो नै पहिलो उदहरण भने होइन । विदेशी डन खुलेआम हातहतियारसँगै नेपाल प्रवेशदेखि लागु औषध, अवैध सामान आयात तथा विदेशबाट नेपालीले कमाएर ल्याएको सामान चोरी हुने कुरा विमानस्थलमा सामान्य नै हो ।
केही गरी घटना सार्वजनिक भए दोषीउपर कारवाही हुने आश्वासन बारम्बार दिइन्छ । तर दोषीलाई के कारवाही भयो र यस्ता प्रकृतिका घटना फेरी दोहोरिन नदिन के गरियो भन्ने कुरा कतै सार्वजनिक हुँदैन । मानौं, विमानस्थलमा हुने यस्ता कुरा रोक्न चाहन्न सरकार र सम्बन्धित निकाय । नत्र बारम्बार यस्ता घटना किन हुन्छन त ?
गत असोजमा दुवई एयरवेजबाट आएका २० नेपालीमध्ये १८ नेपाली कामदारको लगेज फुटाइए । महंगा सामानहरु चोरी भए । यसलाई आन्तरिक त्रुटी भएकोले क्षतिपूर्ति दिने भन्दै घटनाको ढाकछोप गर्न खोजियो । तर कसले ती सामान खोेलेका थिए भन्ने कुरा सार्वजनिक भएन । दोषीलाई के कस्तो कारवाही गरियो, त्यो खुलाइएन ।
‘विमानस्थलमा तस्करको सिण्डिकेट’
त्रिभुवन विमानस्थलमा भइरहने यस्ता घटनाहरुले विमानस्थलभित्र तस्करहरुको ठूलो सिण्डिकेट नै रहेको पुष्टि हुन्छ । विमानस्थल भनेको सबैभन्दा संवेदनशील स्थान हो । खासगरी अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सामान्य गल्तीले ठूलो क्षति हुने मात्रै नभई दीर्घकालमा समेत अन्तर्राष्ट्रिय क्षेत्रमा देशले बदनामी खेप्नुपर्ने हुन्छ । त्यसैले संसारभरी नै विमानस्थलमा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि रोक्ने विशेष कदम चालिएका हुन्छन् । त्यही अनुरुपका संयन्त्र निर्माण भएका हुन्छन् । तर हामीकहाँ भने उल्टो हुन्छ । यहाँ तस्करी भइरहोस् तर त्यो कुरा बाहिर नखुलोस् भन्ने चाहन्छन् । त्यसैले हरकेपटक यस्ता घटना हुँदा पनि तस्करीको जालोले त्यसलाई बाहिर ल्याउन दिन्न ।
संसारभरी नै विमानस्थलमा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि रोक्ने विशेष कदम चालिएका हुन्छन् । त्यही अनुरुपका संयन्त्र निर्माण भएका हुन्छन् । तर हामीकहाँ भने उल्टो हुन्छ ।
पटक पटक यस्ता अवैध सुनहरु पक्राउ पर्ने क्रम जारी छ । तर अझैसम्म वास्तविक तस्करी नाइकेलाई भने पक्राउ गर्न सकिएको छैन । सधैं पक्राउ हुन्छन् त केवल भरिया । चिन, हङकङ, मलेसियालगायतका देशहरुबाट नेपालमा सुन तस्कर हुने गर्दछ । गत कात्तिक १९ गते झापाबाट काठमाडौं आउने क्रममा कम्मरमा लुकाइ ल्याएको अवैध सुन थानकोट प्रहरीले पक्राउ गर्यो । त्यहीताका मलेसियाबाट ल्याइएको सवा एक करोड मूल्य बराबरको अवैध सुन प्रहरीले पक्राउ गरेको थियो । यसरी पछिल्लो समय सुन तस्करीहरुलाई पक्राउ गरेको आधारमा पनि सुन तस्करीहरु ह्वात्तै मौलाएका छन् । सुन तस्करीमा विदेशी तथा स्वदेशीहरुको संलग्नता हुने प्रहरीले बताएको छ । तर प्रश्न उठ्छ– यो जालो किन भत्किँदैन त ?
विमानस्थलमैं आवश्यक नयाँ संयन्त्र
विमानस्थलको सुरक्षाका लागि नयाँ संयन्त्रको विकास गर्ने, त्यहाँभित्रको तस्करीतन्त्रलाई अन्त्य गर्ने र नेपालको विमानस्थललाई सुरक्षित र मैत्रीपूर्ण विमानस्थलका रुपमा विकास गर्न सिंँगो विमानस्थलकै नयाँ संयन्त्र आवश्यक छ । यसतर्फ विशेष ध्यान दिनु जरुरी छ ।
देशमा पोखरा, भैरहवालगायतका क्षेत्रमा थप अन्तर्राष्ट्रिय विमानस्थलहरु बनिरहेको सन्दर्भमा यो झनै महत्वपूर्ण हुन्छ । त्यसै पनि छिमेकीहरुले नेपालको भूमि अरुका लागि प्रयोग भइरहेको आरोप लगाइरहेको बेला विमानस्थलमा सुरक्षा व्यवस्थाको यो अवस्थाले उनीहरुको आरोपलाई पुष्टि नगर्ला भन्न सकिन्न । त्यसैले त्रिभुवन विमानस्थल र निर्माणाधिन अन्य विमानस्थलहरुका हुने यस्ता तस्करी, अराजकता, सुरक्षा संवेदनहीनताका विषयमा गम्भीर ढंगले छानबिन हुनु जरुरी छ ।