बागमतीमा फोहोर फाल्नेलाई बीस हजार जरिवाना

काठमाडौं, पुस २३ । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहोर फाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ ।

अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहोर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु २० हजार जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताए ।

‘फोहर फाल्दा रङ्गेहात पक्राउ परेका शिवशंकर होटल जयबागेश्वरीका कामदार जरिवाना रकम रु पाँच हजार ल्याउँछु भनी गएकामा जरिवाना बुझाउन नआई फोनबाट जरिवाना तिर्दिन जे सक्नुहुन्छ गर्नुस्, भनेपछि महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा सञ्चालक प्रज्वलमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ’– उनले भने ।

याे पनि पढ्नुस  बागमतीबाट निकालियो उन्नाइस मेट्रिक टन फोहोर

फोहोरमैला ऐनअनुसार सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई स्थानीय निकायले रु.पाँच हजारदेखि रु.एक लाख ५० हजारसम्म जरिवाना र छ महिना जेलमा राख्न पाउने व्यवस्था गरिएको छ ।

प्रत्येक शनिबारझैँ आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । बागमती सफाइको एक सय ९१ औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहोर व्यवस्थापन गरेका छन् । स्वतः स्फूर्तरुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाई र अर्को समूहले तिलगङ्गा क्षेत्रका घरघरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले राससलाई जानकारी दिए ।

याे पनि पढ्नुस  प्रमुख नदीबाट सोह्र मेट्रिक टन फोहर व्यवस्थापन

तिलगङ्गा क्षेत्रका घरदैलोमा गई नदीमा फोहोर नफालौँ, फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिक पर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको उनले बताए ।

रुद्रमती सफाइको १५० औँ हप्तामा आज बूढानीलकण्ठदेखि बुद्धनगरसम्म १० स्थानमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिएको छ ।

आजको विशेष कार्यक्रमको शुभारम्भ स्वास्थ्यमन्त्री गगनकुमार थापाले बूढानीलकण्ठ मन्दिर परिसरमा गरिएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री थापाले रुद्रमतीलाई उपत्यकाको पहिलो सफा नदी बनाउन सबै जुट्नुपर्ने बताए ।

यो अभियानमा आफ्नो पनि साथ र सहयोग रहने उनको भनाई रहेको थियो । सफाइ अभियान सुरु हुनुअघि योग शिक्षकद्वय डा.राजु अधिकारी र किशोर साहीले योग प्रशिक्षण दिएका छन् ।

याे पनि पढ्नुस  बागमतीबाट निकालियो उन्नाइस मेट्रिक टन फोहोर

सफाइमा मुख्य सचिव डा.सोमलाल सुवेदी, पूर्वसचिव किशोर थापा, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइ अभियानको नेतृत्व गरेको थियो । रुद्रमतीका १० स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालय लगायतको सक्रियता रहेको थियो ।

विष्णुमती सफाइको १२४ औँ हप्ताका अभियन्ता पनि आज रुद्रमतीमै केन्द्रित भएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए । बूढानीलकण्ठस्थित विष्णुमती मुहानमा सफाइ गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको उनले बताए ।

रासस

कमेन्ट गर्नुहोस्