उदयपुर, पुस २४ । उदयपुर जिल्लाको हर्देनी–३ गहुँबारीमा बलेरो जिप दुर्घटना हुँदा घाइतेहरुको उपचार सरकार गर्ने भएको छ । शुक्रबार भएको दुर्घटनाका घाइतेहरुको रकम अभावले अस्पतालले उपचार गर्न मानेको थिएन ।
उपचारका लागि भर्ना गरिएका सम्बन्धित अस्पतालहरुले पहिला नै रकम जम्मा गर्नुपर्ने र रकम जम्मा नगरी उपचार नगर्ने बताएपछि शनिबारसम्म पनि उपचार हुन सकेको छैन ।
उपचारको पहल गरिदिनका लागि इप्रका, कटारीले उदयपुरका सांसद भेषकुमारी राउत (कोपिला)को ध्यानाकर्षण गराएपछि सांसद राउतको पहलमा घाइतेको उपचारको खर्च गृहमन्त्रालयले व्यहोर्ने सर्तमा अहिले बिरामीको उपचार हुन थालेको सांसद राउतले बताइन ।
अधिकांश घाइतेको मस्तिष्क र टाउकोको उपचार गर्नु पर्ने हुँदा प्रतिबिरामीको उपचारका लागि तत्काल रु पाँच लाखभन्दा बढी खर्च लाग्ने अस्पतालले बताएको छ ।
जिप दुर्घटनामा सख्त घाइते भएकामध्ये हर्देनीकै ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, ४० वर्षीय निरबहादुर कार्की, ४६ वर्षीय रेशम कार्की, १७ वर्षीया एलिना श्रेष्ठ र १४ वर्षीय विमल बस्नेत गम्भीर घाइते भएका थिए ।
सख्त घाइतेमध्ये निरबहादुर कार्कीलाई विराटनगरको नोबेल अस्पताल र एलिना श्रेष्ठलाई काठमाडौँको ग्रान्डी अस्पताल तथा अन्यलाई विराटनगरको न्युरो अस्पताल पठाइएको इप्रका, कटारीले बताएको छ ।
जिप दुर्घटनामा गाडी धनी ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीय भीमकुमारी राउतको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइते निरबहादुर कार्कीको आइतबार बिहान काठमाडौँमा मृत्यु भएको इप्रका कटारीका प्रमुख चिरञ्जीवी कोइरालाले बताए ।
गाडी धनीको नै मृत्यु भएपछि गाडीको बिमाको कागजसमेत बेपत्ता भएको र मृतकलाई दिइने क्षतिपूर्ति व्यवस्थापन गर्नसमेत समस्या आएको इप्रका, कटारीले बताएको छ ।