चलचित्र भन्ने बित्तिकै चमकदमक संसारको कल्पना गरिन्छ । जीउडाल राम्रो हुनु हिरो या हिरोइनको ‘सिम्बल’ नै मानिन्छ । तर कलाकारितामा यो ‘स्टारडस्ट’को विकल्पमा पनि कैयन् कलाकार उभिएका छन् । यस्तै थिए हालै मात्र मृत्यु भएका कलाकार ओम पुरी ।
ओम पुरी असाधारण व्यक्तित्व हुन । उनले चलचित्रका बारेमा बुनिएका कतिपय मिथकहरुलाई तोडे । कला कलाका लागि होइन, कला त समाज र परिवर्तनका लागि हुनुपर्छ भन्ने आदर्श बोकेर हिँडेका ओमपुरीको उत्तरार्ध जीवन छोड्ने हो भने उनले तथ्यपरक कथा बस्तुमा अभिनय गरे । स्थापित भए । आज सबैका मनमा एउटा सफल कलाकारको रुपमा बसेका छन् ।
कुनै बेला होटलमा चियाका जुठा गिलास माझ्दै कलाकार बन्ने सपना बुन्थे ओम पुरी । तर स्थापित मिथक जस्तो उनको अनुहार थिएन । न त बोली नै । तर यिनै ओम पुरी १९८० मा ‘आक्रोश’ मार्फत देखा परे भारतीय चलचित्र उद्योगमा । आक्रोश साँच्चिकै आक्रोश थियो । व्यवस्थाविरुद्ध, स्थापित मान्यताविरुद्ध । यो ओमपुरी आफ्नै पनि आक्रोश थियो । सत्तरीको दशकमा तथाकथित प्रेमका चलचित्रको बाहुल्यता र प्रभावविरुद्ध ।

ओमपुरीको पहिलो चलचित्र आक्रोश गोविन्द निहलानीले निर्देशन गरेका थिए । गोविन्द निहलानी आफैमा फरक धारका चलचित्र निर्देशक । सिनेमाटोग्राफरबाट यात्रा शुरु गरेका थिए निहलानीले । तर आक्रोशले उनको निर्देशन क्षमता समेत देखियो ।
ओम पुरी कुनै स्थापित चलचित्र घराना या खानदानबाट आएका थिएनन् । बाल्यकालमा संघर्षको जीवन बित्यो उनको । तर भारतीय चलचित्र उद्योगमा आम मानिसको प्रवेश सम्भव छैन भन्ने मिथक उनले भत्काउन सफल भए । ७ वर्षको उमेरमा चियाका जुठा भाँडा माझ्ने ओम पुरी राष्ट्रिय नाट्य विद्यालय पुगे । घाँसीराम कोतवाल नामक मराठी चलचित्रमा उनी पहिलो पटक देखा परे । र, सन् १९८० मा आयो ‘आक्रोश’ । आक्रोशमा ओम पुरी देखिनु बलिउडमा स्थापित कैयन मिथकहरुमाथिको प्रहार थियो ।
यहाँ हामीले ओमपुरीको यही पहिलो चलचित्र राखेका छौं । नेपालका अहिलेको अवस्थासँग समेत यो चलचित्र उत्तिकै मेल खान्छ ।
अहिले सुन्दा अचम्म लाग्छ, काम न काजका विज्ञापनमा समेत ‘कलाकार’हरु देखिन्छन् । तर ओमपुरी लगायतको एउटा समूह थियो बलिउडमा, जसले कला व्यापारका लागि हैन भन्ने मान्यता राख्थ्यो । पत्याउन गाह्राे पर्छ, ‘घासीराम कोतवाल’ नामक मराठी चलचित्रमा अभिनय गरेवापत ओमपुरीले बदाम पाएका थिए पारिश्रमिकका रुपमा । निकै पछिसम्म पनि ओमपुरीले पैसाका लागि जस्तोसुकै भूमिका समेत निर्वाह गर्ने परम्पराविरुद्ध लड्दै आए ।
आफ्नो पहिलो हिन्दी चलचित्र ‘आक्रोश’बाट ओमपुरीले भारतीय चलचित्र उद्योगको सबैभन्दा ठूलो नेशनल अवार्ड नै जिते । यो समय भारतमा नक्सलवादीविरुद्ध चरम दमनको समय थियो । त्यसपछि सन् १९८२ मा आरोहण र एकवर्षपछि अर्धसत्यमा उनको दमदार अभिनय देखियो ।