काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले घडी चोरेको आरोपको खण्डन गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै ओखलढुंगाबाट निर्वाचित सांसद खतिवडाले आफूलाई फसाउन खोजिएको बताए । उनले भने– ‘यो मलाई फसाउने नियतले म माथि अन्याय गरेको हो,‘ यसको निष्पक्ष छानबिन गर्नुपर्यो।’
पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबल गुरुङको महँगो रोलेक्स घडी आफ्नो ट्राउजरको गोजीमा कसले र किन राखिदियो भन्ने बारे आफूलाई केही थाहा नभएको उनले बताए ।
बुधबार होटल र्याडिसनको जिम गइसकेपछि बिहीबार एउटा कार्यक्रमका लागि ओखलढुंगा गएको र शुक्रबार ट्राउजर लगाउँदा त्यसको गोजीमा घडी भेट्दा आफूले तत्कालै खबर गरेको उनले प्रष्ट्याए ।
उनले आफ्नो चरित्र हत्या गर्न गम्भीर आरोप लगाएकव् दाबी गरे । ‘यो मेरो चरित्र हत्या गर्ने किसिमले आयो, मैले ट्राउजरमा भेट्नासाथ खबर गरेको हुँ। यो आरोपले म मात्र नभएर समग्र सांसदलाई चोट पार्ने काम गरेको छ,’ उनले भने,‘ यसको निष्पक्ष छानबिन हुनुपर्छ।’