बैतडी, पुस २५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन जिल्ला शाखा बैतडीले आज गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन बुझाइसकेकाले नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए ।
“संविधान कार्यान्वयनका लागि पनि स्थानीय निर्वाचन आवश्यक छ”– उनले भने, “यसका लागि सरकारले चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्छ ।” संसद् अवरुद्ध गर्नु गैरलोकतान्त्रिक चरित्र भएकाले सबै विषयको छलफल संसद्बाटै हुनुपर्नेमा उनले जोड दिए ।
“लोकतन्त्र र संसदीय प्रणालीमा विश्वास गर्ने पार्टीले संशोधन विधेयकको बारेमा संसद्मै छलफल हुन दिनुपर्छ,” उनले भने, “पारित गर्ने या नगर्ने संसद्ले तय गर्छ, संसद् अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक चरित्र देखाएको छ ।”
संविधान संशोधनका विषयमा असहमति भए संसद्बाटै बहुमत देखाएर अस्वीकृत गर्न एमालेलाई डा महतले चुनौती दिए । “संशोधन विधेयकका बारेमा सबै पार्टीभित्र मत भिन्नता हुन सक्छ तर यसको छिनोफानो आन्दोलनबाट नभएर संसदीय प्रक्रियाबाटै हुनुपर्छ ।” रासस