बर्दिवास, पुस २५। हाँस्य कलाकारद्वय धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) महोत्तरीको बर्दिवासमा सम्मानित गरिएको छ ।
बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका हाँस्य कलाकारद्वयलाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो ।
कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हाँस्य कलाकारद्वयलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेका छन् ।
मानवीय करुणा र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर लागि परेका धुर्मुस र सुन्तलीले चरम गरिबी र अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहरको उत्थानका लागि थालेको प्रयत्नको कदरको सम्मान गर्दै सम्मानित गरिएको बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए ।
सामाजिक सेवाको क्षेत्रमा क्रियाशील यो जोडीलाई बर्दिवास नपाले मायाको चिनो पनि प्रदान गरेको थियो । धुर्मुस–सुन्तली आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती रु चार करोड ७८ लाखको लागतमा निर्माण गर्ने भएको छ ।
बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको आज दिउँसो हाँस्य कलाकारकै अर्को जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
हाँस्य कलाकारद्वय धुर्मुस र सुन्तलीले आफ्नो बस्तीका दलित समुदायका मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गरेको बर्दिवासबासी बताउँछन् ।
चरम गरिबीले पिल्सिएका मुसहरको उत्थानका लागि मानवता र सद्भावको मूलमन्त्र बनाएर पहाडबाट तराईको बर्दिवास झरेका धुर्मुस सुन्तलीलाई मन, वचन र कर्मले साथ दिने कार्यक्रममा बर्दिवासबासीले सामूहिक उद्घोष गरेका थिए ।
कार्यक्रममा हाँस्य कलाकार धुर्मुसले एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिवासबासीले देखाएको आत्मियता र सहयोगले आफूहरुलाई थप ऊर्जा प्राप्त भएको बताए । ‘हामी तपाइँहरुसँगै सिमेन्ट, बालुवा, गिट्टी, इँटा बोक्छौँ, अराइपराइ र रेडिमेट भाषणले अब मुलुक बन्दैन’ धुर्मुसले भने– ‘हामी सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ ।’
रासस