दोलखामा ७ हजार भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ता

दोलखा, पुस २५ । भूकम्प गएको २० महिना पछि जिल्लामा ८८.०६ प्रतिशत भूकम्पपीडितले मात्र अनुदानको पहिलो किस्ता पाएका छन्।
जिल्लामा ५१ हजार ९४० जना लाभग्राहीको सूचीमा भए पनि आजसम्म ४५ हजार ७४० जनाको बैंक खातामा रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जनाएको छ।

प्राधिकरणका अनुसार सम्झौता सकिएको तर रकम बैंक खातामा जम्मा नभएका एक हजार ६५२ जनाको पनि चाँडै रकम बैंक खातामा जम्मा हुनेछ। चार हजार ५४८ जना भूकम्पपीडितसँग भने सम्झौता हुन बाँकी छ।

प्राविधिक समस्या देखिएका कारण अनुदानका लागि सम्झौता हुन नसकेको बताउँदै समस्या समाधान गरी सम्झौता गराएर रकम वितरण गर्ने जनाइएको छ।
पैँतालीस हजार ७४० जनाले अनुदानको पहिलो किस्ता लिए पनि दोस्रो किस्ता लिनेको सङ्ख्या शून्य रहेको हो। दोस्रो किस्ताका लागि केही भूकम्पपीडितले माग गरेकाले प्राविधिकले निरीक्षण गरेको र स्थानीय निकायको सिफारिसमा दोस्रो किस्ताका लागि प्रक्रिया सुरु भएको हो।

भूकम्पपीडित परिचयपत्रलाई आधार मान्दा दोलखामा ३० हजारको हाराहारीमा लाभग्राहीको सूचीबाट भूकम्पपीडितको नाम छुटेको थियो। छुटेकालाई सम्बोधन गर्ने गरी सरकारले गुनासो फाराम भर्ने व्यवस्था गरेसँगै दोलखामा २१ हजार ७१२ जना भूकम्पपीडितले लाभग्राहीको सूचीमा आफूलाई राखियोस् भन्दै फाराम भरेका थिए।

उक्त फाराम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पठाइसकिएकाले लाभग्राहीको सूचीबाट छुटेका ७० प्रतिशत भूकम्पपीडितको नामावली कार्यकारी समितिमा सिफारिस भएको प्राधिकरणको जिल्ला समन्वय समितिले जनाएको छ।

सम्झौता हुन बाँकी रहेकामा दोलखाको भेड्पु गाविस र शैलुङ्गेश्वर गाविसका भूकम्पपीडित सबैभन्दा बढी छन्। भेड्पु गाविसमा सिङ्गो गाउँ नै जग्गा धनी पुर्जाविहीन भएकाले छुटेको हो भने शैलुङ्गेश्वरमा धेरैको नाम छुटेका कारण लाभग्राहीको सूचिमा परेकाहरुले पनि सम्झौता गर्न मानेका छैनन्।

कमेन्ट गर्नुहोस्