संगीत संघमा विवाद चुलियो, उपाध्यक्ष र सचिव सहित बहुमत सदस्यले दिए राजीनामा

काठमाडौं, पुस २५ । नेपाल संगीत उद्योग संघ भित्रको विवाद चुलिएको छ । संघमा अध्यक्षले एकलौटी मनोमानी गरेको भन्दै उपाध्यक्ष र सचिवसहित बहुमत छ जना असन्तुष्ट सदस्यले सोमबार राजीनामा दिएका छन् ।

संघका उपाध्यक्ष रामजीप्रसाद पन्त र सचिव टुकराज काफ्ले सहित विमल अधिकारी, सुविन लामिछाने, केशब सापकोटा, घनश्याम अधिकारी लगायत छ जनाले सोमबार राजीनामा दिदैँ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएका छन् ।

राजीनामा पत्रमा उनीहरुले संघका अध्यक्ष सुर्य मगरले मनोमानी ढंगले संस्था चलाएको आरोप लगाएका छन् । अध्यक्ष मगरले संस्थाको नियम विपरित आजीवन सस्यता बाँडेको, आर्थिक पारदर्शीता नदेखाएको, कार्यसमितीलाई जानकारी नै नदिइ एकलौटी संस्थागत निर्णय गरेको, संस्थाका फर्निचर समेत तोडफोड गरि मर्मत सम्म नगरेको आरोप लगाउँदै नैतिकताले संस्थामा रहन उपयुुक्त नठानेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

गोपाल योञ्जन,मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, शम्भु राईजस्ता दिग्गज व्यक्तिले हाँकेको संघ अहिले धराशायी अवस्थामा छ । एक वर्ष अगाडि अध्यक्षमा निर्वाचित भएका मगरले संस्थागत काम नगरेको भन्दै आलोचित बन्दै आएका थिए । १३ सदस्य रहेको कार्यसमितीमा यसअघिनै दुई सदस्यलाई कारवाही गरिएकोले ११ जना मात्र सदस्य बाँकी थिए । बहुमत सदस्यले राजीनामा बुझाएपछि संघ अहिले बैधानिक संकटमा परेको छ ।

कमेन्ट गर्नुहोस्