सेतो मच्छिन्द्रनाथको मूर्ति मर्मत

काठमाडौं, पुस २६ । काठमाडौँको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई मर्मत तथा सिङ्गारको काम भइरहेको छ । पौष शुक्ल अष्टमीका दिन महास्नान गराइएको सो मूर्तिमा बिग्रेको ठाउँमा आवश्यक मर्मत र सिङ्गारपछि घाममा राख्ने गरिन्छ ।

नवमीका दिनदेखि नै सो कार्य जारी छ । पौष शुक्ल पूर्णिमाका दिन मूर्तिलाई विधिविधानपूर्वक दशकर्म गरी प्राण प्रतिष्ठा गरिने र मन्दिरमा विराज गराइने पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिए। प्रत्येक वर्ष पौष शुक्ल सप्तमीका दिन मूर्तिलाई मन्दिरबाट निकालेर कलशमा देवताको प्राण प्रतिष्ठा गरिन्छ ।

भक्तजनले सो मूर्तिको विकल्पमा सोही कलशमा पूजा गर्ने चलन छ ।

बौद्ध धर्मावलम्बीले आर्य अवलोकितेश्वर, शैवले सिंहनाथ लोकेश्वर, वैष्णवले हरिका रुपमा तथा योगीले नाथका रुपमा मच्छिन्द्रनाथलाई आस्था प्रकट गर्ने गर्दछन् ।

गोरखनाथका पनि गुरुका रुपमा मच्छिन्द्रनाथलाई मानिएको छ । सहकाल र वर्षाका रुपमा समेत मच्छिन्द्रनाथको पूजा हुने गर्दछ ।

सेतो मच्छिन्द्रनाथ भने निरोगी र करुणाका प्रतीकका रुपमा बौद्ध धर्मावलम्बीले विश्वास गर्दछन् ।

रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: