चितवनको १० वटा विकासमा प्रधानमन्त्रीको चासो, सरकारबाट अर्वौ लगानी गर्ने

चितवन, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको समग्र विकासको प्याकेज छिट्टै ल्याउने बताएका छन् । मंगलबार मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले जिल्लाको समग्र विकासमा सरकारबाट अर्बाै लगानी गर्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्रीले भने ‘बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजालीको व्यवस्था गरिनेछ । मेघौली एयरपोर्ट पूनः सञ्चालनको व्यवस्था गरिनेछ । नारायणगढ—गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माणमा मेरो गम्भीर ध्यान गएको छ । ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि सरकारको तर्फबाट पहल भइरहेको छ । चितवनको विकासका निम्ति सधैं साथमा छु, छिट्टै चितवनको विकासको प्याकेज ल्याउनेछु ।’

याे पनि पढ्नुस  मधेसी मोर्चाकै सहभागितामा स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्रीको भनाई

खानेपानीको हक जनताको मौलिक हक भएको उनले बताए । ‘खानेपानीको समस्या नेपालको आधारभूत समस्या हो । यसमा पछिल्लो समयमा सुधार आएको छ । संविधानमा खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । यसको व्यवहारिक कार्यान्वयन अहिलेको मूख्य दायित्व हो । यस्ता आयोजनाहरुले त्यस्तो व्यवस्थाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

याे पनि पढ्नुस  कमरेड ! नेतृत्वको रक्षा अहिले नगरे कहिले गर्ने ?

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, भूमिसुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डे, सांसद रुक्मिनी चौधरी, पूर्व उपप्रधानमन्त्री अमिक शेरचन लगायतको उपस्थिति रहेको थियो ।
मेघौली खानेपानीको उद्घाटनपूर्व प्रधानमन्त्रीले गोलाघाटमा रहेको निर्माणाधीन गोलाघाट पुलको स्थलगत निरीक्षण गरे । स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने- ‘गोलाघाट पुल सरकारको प्राथमिकतामा छ । निकुञ्जको प्राविधिक कारणले पुल निर्माणमा ढिलाई भएको सूचना पाएको छ । म यहाँबाट फर्केलगत्तै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर छिटै पुल निर्माणमा तिब्रता दिनेछु । पुल निर्माण छिटै सम्पन्न हुन्छ ।’

कमेन्ट गर्नुहोस्