पर्यटक तान्न महादेवकाे मूर्ति स्थापना

पोखरा, पुस १६ । ऐतिहासिक, धार्मिक एवं रमणीय क्षेत्र पोखरा २५ स्थित पुम्दीकोटमा निर्माण गरिने विशाल महादेवको मूर्ति स्थापनामा पर्यटन व्यवसायीले सहयोग गर्ने भएका छन् ।

पुम्दीकोट विशाल महादेवको मूर्ति निर्माण उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिद्वारा पोखरामा आयोजित पर्यटन व्यवसायीबीचको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले सक्दो सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

विश्वशान्ति स्तूपसहित सो क्षेत्रमा सञ्चालित भुजेल, गुरुङलगायत गाउँका घरबास कार्यक्रमलाई एकमुष्ट अगाडि बढाउन स्थानीयस्तरबाट सुरु गरिएको अभियानको बजारीकरणमा सहयोग गर्ने उनीहरुले बताए ।

पश्चिमान्चल क्षेत्रीय प्रशासक खगराज बरालले पोखरामा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय विमानस्थललाई असर नपर्ने गरी शिवको मूर्ति निर्माण गर्नुपर्ने बताउँदै रातिको समयमा पनि पर्यटकीय आकर्षकका गतिविधि सञ्चालन गरिनुपर्ने सुझाव दिए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले ऐतिहासिक स्थलका रुपमा परिचित पुम्दीकोटलाई धार्मिक एवम् पर्यटकीयस्थलको रुपमा विकास गर्न सके त्यस क्षेत्र तथा पर्यटन विकासमा टेवा पुग्ने बताए ।

नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराईले मुलुकको पर्यटन विकासका लागि मानवनिर्मित स्थलको पनि खाँचो औल्याएका छन् ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले मूर्ति स्थापनामा आफ्ना स्व बुबा रत्नबहादुर र हजुरबुबा भक्तबहादुर भट्टराईको स्मृतिमा रु दुई लाख दुई सय २२ सहयोग गरिने घोषणा गरेको छ ।

समुद्री सतहबाट एक हजार पाँच सय मिको उचाइमा रहेको कोटस्थित १८ रोपनी जग्गामा लगभग रु २१ करोडको लागतमा एक सय आठ फिट अग्लो शिव मूर्तिसहित एक सय आठ शिवलिङ्ग निर्माण गरिने समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए ।

उनका अनुसार नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयबाट रु.२० लाख प्राप्त भएको छ । सो परिसरमा ध्यान केन्द्र, स्मृति उद्यान बनाइने योजना छ ।

कमेन्ट गर्नुहोस्