अबदेखि प्रधानमन्त्री, मन्त्रीलाई सांसदले प्रत्यक्ष प्रश्न सोध्न पाउने

काठमाडौं, पुस २६ । अबदेखि सांसदले प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएका छन् । यसअघि सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्रीसँग संवाद गर्ने व्यवस्था थिएन ।
झन्डै डेढ महिना लामो अवरुद्ध संसद सोमबार शुरु भएपछि प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी आन्तरिक कार्यविधि २०७३ पारित भएको छ।
पारित कार्याविधि अनुसार प्रश्न सोध्न चाहने सांसदले आफ्नो प्रश्न संसद सचिवालयमा दर्ता गर्नुपर्नेछ।

बढीमा २० वटा प्रश्न र एउटा बैठकमा दुई जना मन्त्रीसंग मात्र प्रश्न सोधिने व्यवस्था गरिएको बताइएको छ।

प्रधानमन्त्री, मन्त्री र सांसदलाई जनताप्रति प्रत्यक्ष जिम्मेवार बनाउने ठानिएको संसदको उक्त प्रश्नोत्तरको कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने संसद सचिवालयले जनाएको छ।

प्रश्नोत्तरका लागि प्रधानमन्त्रीलाई प्रत्येक महिनाको दोस्रो आइतबार तथा अन्य मन्त्रीहरुलाई प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार दुई घण्टाको समय निर्धारण गरिएको जनाइएको छ।
सोमबार संसदमा कार्याविधि अनुमोदन भएपछि त्यसको शुरुवात प्रधानमन्त्रीबाट गरिने सभामुख ओनसरी घर्तीले बताइन्।

उनले भनिन्, ‘संसदमा कस्तो प्रकारका प्रश्न आँउछन् र कुन विषयमा आँउछन् अनि ती कुन मन्त्रालय अन्तर्गत पर्दछन् भन्ने कुराले मन्त्रीहरुको प्रश्नोत्तर निर्धारण गर्दछ। हामीले यसको शुरुवात प्रधामन्त्रीबाट गर्ने भनी उहाँसंग कुराकानी गरिसकेका छौं।’

संसदमा यसअघि सांसदहरुले शून्य समय वा विशेष समय लिएर प्रश्नहरु राख्ने गरेपनि प्रत्यक्ष संवा गर्ने व्यवस्था थिएन ।
सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले भने, ‘जनताले उनीहरुको प्रतिनिधिले प्रधानमन्त्री वा मन्त्रीसंग उनीहरुको सरोकारको विषयमा प्रश्न गरेको वा नगरेको वा उदासीन रहेको भन्ने देख्न पाउने भए। यसले गर्दा उनीहरुमा नैतिक जबाफदेहीता बढ्छ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: