बागलुङ, पुस २६ ।आजभोलि कृषकहरु मौरीपालनमा बढी आकर्षिक भएका देखिन्छन् ।
यो कम लगानी र खर्चमा मनग्य आम्दानी हुने भएकोले कृषकहरु यसप्रति बढी नै मौरीपालन व्यावसायिक बन्दै गएको छ ।
जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीका अनुसार जिल्लाभर पाँच हजार ६८६ घारमा व्यावसायिक मौरीपालन हुँदै आएको छ ।
दुई वर्षअघि २५ टन मह उत्पादन भएकामा गत आवमा २८ टन उत्पादन भएको उनले बताए ।
मौरीपालनमा किसानलाई आकर्षित गर्न कार्यालयले घारमा ५० प्रतिशत अनुदान दिँदै आएको छ । गत वर्षसम्म २५ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।
कार्यालयले यस वर्ष थप ५०० घारमध्ये ३६० घार किसानलाई बाँडिसकेको छ । गतवर्ष पनि कार्यालयले अनुदानमा ५०० घार बाँडेको थियो ।
“मौरीको गोलासहितको घार पनि बाँड्ने गरेका छौँ” अधिकारीले भने ।
सुन्तला बगैँचा भएका ठाउँमा मौरीको गोलासहितको घार वितरण गर्ने गरिएको छ ।
“किसानको माग पुर्याउन सकिएको छैन,” उनले भने । किसानले परम्परागत र उन्नत दुवै घारमा व्यावसायिक मौरीपालन गर्दै आएका छन् । अहिले करिब तीन हजार ५०० उन्नत घारमा मौरीपालन भइरहेको छ । परम्परागत घारको सङ्ख्या भने यकिन छैन ।
जिल्लामा बर्सेनि रु दुई करोड ५० लाखभन्दा बढीको मह बिक्री हुँदै आएको छ । जिल्लामा प्रतिकिलो मह रु.९०० देखि रु.एक हजारसम्ममा बिक्री भइरहेको छ । अधिकांश उत्पादित मह जिल्लाभित्रै खपत हुन्छ ।
दगातुम्डाँडा गाविस– ८ राक्सेका मौरीपालक किसान दुर्गा अर्याल महको माग धान्न नसकिएको बताएको छ ।
दुई वर्षअघि तीनवटा घारमा मौरी पाल्दै आएका अर्यालसँग अहिले २७ वटा घार छन् ।
सरकारी अनुदान पाएपछि उनले मौरीपालन विस्तार गरेको हो । जैदी, छिस्ती, सिगाना, मल्म, हटिया, दगातुम्डाँडा गाविस मौरीपालनका ‘पकेट क्षेत्र’ मानिन्छन् ।