मुम्बई । चर्चित अभिनेता ओम पुरीको मृत्युको घटनामा नयाँ रहस्यहरु खुल्दै गएका छन् । पछिल्लो समयमा प्रहरीले ओम पुरीको मोबाइल फोन उनकी दोश्रो श्रीमतीसँग भेटेपछि यो घटना थप रहस्यमयी बनेको हो ।
प्रहरीले जाँचका लागि फोन माग्दा शुरुमा उनीकी पत्नी नन्दिता कपुरले प्रहरीलाई फोन नदिएको तर पछि फर्मेट गरेर मात्रै दिएको समाचार सार्वजनिक भएको छ ।
ओम पुरीको मृत्युपछि उनको फोन भेटिएको थिएन । उनी ६ जनवरीको बिहान मृत अवस्थामा भेटिएका थिए ।
पोष्टमार्टमको रिपोर्टमा उनको टाउकोमा डेढ इन्च गहिरो घाउ देखिएको थियो । अब प्रहरीले फोनको अन्तिम लोकेशन बर्सोवामा थियो या कहाँ थियो भन्ने कुराको खोजी गरिरहेको छ । ओमपुरी मुम्बईको बर्सोवामा बस्ने गर्थे ।
प्रहरी सूत्रलाई उद्दृत गर्दै भारतीय मिडियाहरुले जनाए अनुसार, ओम पुरीको मृत्युपछि उनको फोन हेरिएको देखिन्छ । यद्यपी जाँचको क्रममा उनकी श्रीमतीले भने यसबारेमा केही बताइनन् । पछि प्रहरीले लोकेशन ट्रेस गरेपनि फोन श्रीमतसँग रहेको थाहा भएको थियो ।
ओम पुरीका नातेदारहरुका अनुसार, उनले सबैजसो कल रेकर्ड गर्ने गर्थे । राती भने अनावश्यक फोन डिलिट गर्ने र जरुरी कल सुरक्षित राख्ने उनको बानी थियो ।
यो रेकर्डमा ओम पुरी र नन्दिताका बीच सम्बन्धविच्छेदपछि भएका कुरा समेत सुरक्षित रहेको बताइन्छ ।
मृत्युको २४ घण्टा अघि ओम पुरी र नन्दिताबीच कैयनपल्ट कुराकानी भएको थियो ।