काठमाडौँ, पुस २८ । उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको पर्यटकीय स्थल तारेभिरलाई देश–विदेशमा चिनाउने उद्देश्यले तेस्रो तारेभिर महोत्सव माघ १ गतेदेखि सुरु गरिने भएको छ ।
तोरेभिरमा ‘चट्टानी बगैँचा’ (रक गार्डेन) निर्माण गर्ने र घरवास (होम स्टे) को व्यवस्था गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने योजनासहित माघ १ गते महोत्सव गरिन लागिएको हो । वि.सं २०७१ माघ १ गते पहिलो पटक महोत्सवको आयोजना गरिएको थियो ।
योजनाअनुसार तारेभिरमा पर्यटन प्रवद्र्धनको गृहकार्य भइरहेका बेला २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँका २६० घर पूर्ण क्षति भएकाले घरवास (होम स्टे) बनाउन नसकिएको महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङले बताए ।
दुई हजार मिटर उचाइमा रहेको तारेभिरबाट उपत्यकाका सबै भागको अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ हिमालको मनमोहक दृश्यले पर्यटकलाई आकर्षण गर्छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो तामाङ बस्तीमा पूर्वाधारसहित ‘चट्टानी बगैँचा’ (रक गार्डेन) को निर्माण गर्न सके आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिएको गोकर्णेश्वर नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योतिले बताएको छ ।
साविक बालुवा गाविसको ३ र ४ नं वडामा पर्ने यो पर्यटकीय स्थल हाल गोकर्णेश्वर नगरपालिकाको ७ नं वडामा पर्छ । सिंहदरबारबाट करिब २५ किमीको दूरीमा पर्ने तारेभिरमा पर्यटकलाई आकर्षण गर्ने भौतिक संरचना बन्न सके यहाँको जीवनस्तर सुध्रने स्थानीयवासीको भनाइ छ ।