‘अफिस ट्याम’मा गाडीको सास्ती

भेडाजस्तै बन्नुपर्ने नियती छ अधिकांश यात्रुहरुको

सडकमा दिनहुँ हजारौं सवारी । राजधानी घुम्नेका लागि रमाईलो । “आम्मै, यति गाडी” पहिलोपटक काठमाडौं आउनेको मुखबाट निस्किन्छ होला पक्कै । तर गाडीको यो तछाम छाडबीच गाडी चढ्नेहरुको पीडा सुन्ने हो भने त्यसको दुख सम्झिँदा समेत आङ जिरिङ्ग हुन्छ कतिको ।

पुष्पा महरा
पुष्पा महरा

त्यसो त दिउँसोतिर खाली खाली देखिन्छन् राजधानीका कतिपय स्थानका सडकहरु । तर सवारी साधनको वास्तविक चाप र पीडाको अनुभूति कार्यालय समय शुरु हुँदा र सकिँदा देखिन्छ । कार्यालय जाँदा र फर्किँदा एकैपटक धेरै मानिस निस्किने हुँदा गाडी कुर्न र पाइहाले पनि त्यसभित्रको सास्ती कतिपयका लागि नियती बनेको छ ।

अवस्था कतिसम्म छ भने गाडीको भर गरेर हिँड्ने मान्छे घरबाट निस्कँदा झण्डै एक घण्टा गाडीका लागि समय छुट्टाएर हिँड्नुपर्ने अवस्था छ । यो बेला ट्राफिक प्रहरीहरुलाई पनि यातायात व्यवस्थापन गर्न हम्मे पर्छ । घण्टौंको जाम, बस बिसौनीमा तछाड मछाड, गाडीभित्र कोचाकोच । बृद्ध, महिला र बच्चाहरुको कन्तबिजोग ।

विहान होस या साँझको समय, गाडी पाइँदैन गन्तव्यमा जानका लागि, गाडी पाइ नै हाले ठाउँ पाइदैन चढ्नका लागि, चढी नै हाले सिट पाइँदैन बस्न । सबै यति हतारोमा हुन्छन् कि के महिला सिट, के अपांग के जेष्ठ, नागरिक सिट । जो पहिलो गयो त्यसैले पायो । बच्चाको आमालाई त झन आरक्षण सिट नै छुट्याएको हुँदैन गाडीमा । कोही दयालु भएर सिट छोडिदिए ठिकै छ अन्यथा जहाँसम्म जाने हो उभिएरै जाने ।

नियमले गाडीमा जति यात्रु राख्नु पर्ने हो त्यसको दोब्बर भन्दा बढी हुन्छन् । ट्राफिक प्रहरी त्यतिबेला देखे–नदेखेझैं गर्छ । अनि यात्रुहरु ट्राफिक प्रहरीलाई गाली गर्छन्, ‘त्यसलाई पैसा चाहिए मात्रै चेक गर्छ, आफूलाई यस्तो गाह्रो भएको छ, हेर मुन्टो बटारेको !’ गाडीमा ठाउँ नहुँदाका बाबजुद पनि झुण्डिएर भएपनि जान्छौं भन्दै आफै चढेका हुन्छन् यात्रुहरु पनि ।

गाडीवालाका लागि मानिसहरुको विवशता र बाध्यता नै पैसा कमाउने साधन बनेको हुन्छ । धक फुकाली तर्क दिन्छन् उनीहरु “अफिस समयमा मात्रै यस्तो हो, दिउँसो त गाडी खाली कुदाउनु पर्छ’ ।

विद्यार्थीहरुले कतिपय बेला कार्ड भएको कुरा गर्छन् । तर गाडीका सहचालकलाई लाग्छ– यसले सित्तैमा गाडी चढिरहेको छ । मन मारिमारि उसले भन्छ– ‘कार्ड देखाउनुस्’ । झगडा त सामान्य हो कार्डको विषयमा । तर झगडाले केही समाधान निस्किन्न भन्ने विद्यार्थीहरुलाई राम्रोसँग हेक्का छ । एक छिन झोंक निकाल्ने मात्रै हो । लाग्छ, गाडीवाला चाहन्छन्– गाडीमा सकभर विद्यार्थीहरु नै नचढुन् ।

सडक नभएर हो या गाडी नभएर हो ? यो प्रश्नको जवाफ भने कोहीसँग देखिन्न । गाडीवालाका लागि मानिसहरुको विवशता र बाध्यता नै पैसा कमाउने साधन बनेको हुन्छ । धक फुकाली तर्क दिन्छन् उनीहरु “अफिस समयमा मात्रै यस्तो हो, दिउँसो त गाडी खाली कुदाउनु पर्छ’ । मानौं मानिसहरु तछाडमछाड नगरे, कोचाकोच नगरे, भेडाजस्तो गाडीभित्र नखाँदेसम्म उनीहरुले कमाउन सक्दैनन । गाडीभित्र भेडाजस्तै खाँदिन्छन् मान्छेहरु । तर यत्तिले पनि पुग्दैन सहचालकलाई ।

१३ जनाको माइक्रोमा २० जना नकोची उसको मुहारमा मुस्कान छाउँदैन । ‘जाने हो’, ‘गुरुजी एकछिन रोकम त’ उसका प्रिय शब्द हुन्छन् । कोचा कोचबीच कसैले आपत्ति जनाए आम उत्तर पाइन्छ ‘भाडाको गाडी हो यस्तै हुन्छ, आफ्नै गाडीमा जानु न ।’ चुपचाप सहनुको विकल्प हुँदैन । यो बाध्यतामा रमाउँछन् गाडीवालाहरु । त्यही भएर होला, कुनै निकायले गाडी हटाउने या थप्ने कुरा गर्दा सबैभन्दा पहिला सडकमा गाडी तेस्र्याएर बिरोध गर्नेमा यिनै गाडीवालाहरु पर्छन् ।

क्षमताभन्दा बढी यात्रु राख्नाले कैयन दुर्घटना भई अनाहकमा ज्यान गुमाउनु परेको पनि छ । तर त्यस्ता दुर्घटना अचेल सामान्य भैसक्यो ।

जसरी पनि गाडी नचढी गन्तव्यमा पुग्न सकिँदैन चढौं, समस्या सबैलाई । अनि ‘ट्राफिकले कारवाही गरेन’ भन्दै गाली गरेर चित्त बुझाउनु परेको छ यहाँ । सर्वधारणलाई हरेक दिन यस्तै सास्ती झेल्नु परेको छ । यस्तै क्षमताभन्दा बढी यात्रु राख्नाले कैयन दुर्घटना भई अनाहकमा ज्यान गुमाउनु परेको पनि छ । तर त्यस्ता दुर्घटना अचेल सामान्य भैसक्यो । आज दुर्घटना हुन्छ घटनाको केही समय पनि वित्न नपाउँदै सोही ठाउँमा पुनः त्यसरी नै उच्च चापमा यात्रुहरु बोकि हिँडिरहेका हुन्छन् सवारी साधानहरु ।

यो नियती हो आम काठमाडौंबासीको । अझ रिङरोडबाहिर जाने यात्रुहरुको अवस्था त झनै बिजोग । रिङरोडभित्र त विकल्प हुन्छ यात्रुसँग । तर बाहिर जान ? त्यसैपनि गाडी थोरै त्यसमा झन गाडीवालाहरुको रजाई । न केही बोल्नु न केही कराउनु । चुपचाप ट्रकमा कोचिएका भैसीहरु मधेसबाट राजधानी ओसारेजस्तो नियती बोकेर जानैपर्ने बाध्यता ।

कहिलेकाहिँ सोध्न मन लाग्छ– सरकार, यो अवस्था कहिलेसम्म ?

कमेन्ट गर्नुहोस्

%d bloggers like this: