संगीतमा रोयल्टी पारदर्शी हुनुपर्छ : गीतकार खरेल

काठमाडौँ, पुस २९। वरिष्ठ गीतकार किरण खरेलले मुलुकमा सामाजिक रुपान्तरणका लागि कला, साहित्य तथा गीत–सङ्गीत सशक्त माध्यम भएको भन्दै सर्जकले सिर्जना गर्ने गीत तथा सङ्गीतको रोयल्टी वितरण प्रणालीलाई पारदर्शी बनाउन आग्रह गरेका छन् ।

गीतकार सङ्घको छैटौँ साधारणसभामा सहभागी उनले कलाकारिता ‘रोयल्टी’ अत्यावश्यक हुने हुँदा त्यसलाई पारदर्शी बनाउने पर्ने माग अघि सारेका थिए ।
उनले समाजमा शान्तिपूर्ण सहअस्तित्व कायम गरी समाजलाई पथप्रदर्शन गर्ने गीत सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।

सङ्गीतकार समाजका अध्यक्ष सुरेश अधिकारीले नेपाली समाजको अवस्था तथा स्रोतको मनोभावनालाई बुझेर राम्रो र उत्कृष्ट गीत तथा सङ्गीतको सिर्जना गर्न सकिएमा राष्ट्र एकताबद्ध हुनसक्ने बताए । त्यस्तै गीतकार मिलन मोक्तान, तुलसी पराजुली, लक्ष्मण श्रेष्ठलगायतले सो क्षेत्रलाई व्यवस्थित गर्ने निकाय संवेदनशील नहुँदा स्रष्टाको सिर्जनाको चोरी बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहालले मुलुकभर रहेका गीतकारलाई एकताबद्ध गरी उनीहरुका हक, हित तथा अधिकारलाई संरक्षण गर्न संस्था क्रियाशील रहेको बताए । साधारणसभाबाट नयाँ नेतृत्वसमेत छनोट गर्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: