काठमाडौं, पौष २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायमा आधुनिकीकरण नै आजको आवश्यकता रहेको बताएका छन् । शुक्रबार पोल्टी व्यवसायीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आधुनिकरणबाट मात्रै आत्मनिर्भर बन्न र अर्थतन्त्रको आधार निर्माण गर्न सकिने बताएका छन् ।
‘उनले भने, ‘हामीकहाँ परम्परागत सोंच छ, ब्युरोक्र्याटिक हडलहरु छन्, कानूनी जटिलता र अन्तरविरोधहरु पनि छन् । तिनलाई चिरेर मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिन्छ ।’
पोल्टी व्यवसायीहरुले गरेको प्रयासलाई सकारात्मक रहेको बताउँदैन उनले भने, ‘व्यवसायको आधुनिकीकरण र बजारीकरणले मात्रै आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ ।’
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोल्टी व्यवसायलाई प्रोत्साहन गर्न केही समयका लागि आयकर छुट दिने व्यवस्था गर्ने जानकारी समेत दिए । कार्यक्रममा उर्जा सङ्कट निवारणमा सरकार र प्रधानमन्त्री प्रचण्डले सार्थक पहल गरेको भन्दै व्यवसायीहरुले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए ।