माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले अध्यक्ष नरेन्द्र न्यौपानेको संयोजकत्वमा ५४५३ सदस्यीय स्ववियु मूल निर्वाचन परिचालन समिति बनाएको छ। सो समितिमा क्रान्तिकारीको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिहरुका सबै सदस्यहरुका साथै देशभरका सबै इकाई अध्यक्षहरु सदस्य रहनेछन्।
बागबजारस्थित क्रान्तिकारी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीले मुलुकका सबै प्रमुख क्याम्पसहरुको चुनाबी कमाण्डर समेत तोकेको छ। पौष २७ र २८ गते काठमाडौंमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले आसन्न फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई स्वागत गर्दै पुर्ण रुपमा चुनावमा होमिने निर्णय गरेको क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपानेले बताए।
न्यौपानेले उपत्याकाका क्याम्पसमा चुनावको माहोल बनारउन कमाण्डर ताेकेको बताए ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयमा रामचन्द्र अधिकारी, पुल्चोक क्याम्पसमा अनिल शर्मा, मिनभवन क्याम्पसमा रञ्जित तामाङ, त्रिचन्द्र क्याम्पसमा मदन अर्याल, पशुपति क्याम्पसमा जितेस योञ्जन तोकिएका छन्। त्यस्तै कोटेश्वर क्याम्पसमा रुद्र विष्ट, पाटन क्याम्पसमा गंगाराम तिमल्सिना, पब्लिक युथमा पुरन केसि, सानोठिमी क्याम्पसमा वीरेन्द्र बस्नेत लगायत छन् ।
२०६५ सालयता हुन नसकेको स्ववियु निर्वाचन २८ वर्षे उमेरहद सहितको मिश्रित निर्वाचन प्रणालीका आधारमा पहिलो पटक हुन लागेको हो। क्रान्तिकारीले सो निर्वाचनका लागि विभिन्न उपसमिति समेत बनाएको छ।
उम्मेदवार छनौट उपसमितिमा नरेन्द्र न्यौपाने, आर्थिक उपसमितिमा अनिल शर्मा, स्वयंसेवक उपसमितिमा रामचन्द्र अधिकारी, घोषणापत्र उपसमितिमा मदन अर्याल, वार्ता तथा तालमेल उपसमितिमा रञ्जित तामाङ छन् । त्यस्तै प्रचारप्रसार उपसमितिमा सुरेन्द्र बस्नेत, अनुगमन उपसमितिमा रुद्र विष्ट, सम्पर्क तथा समन्वय उपसमितिमा जितेस योञ्जन, संगठन परिचालन उपसमितिमा वीरेन्द्र बस्नेत लगायत छन्।
स्ववियु तयारीलाई घनिभुत बनाउने सन्दर्भमा पौष १० गतेभित्र सातैबटै प्रदेशमा प्रदेश स्तरीय स्ववियु सम्बन्धी वृहत कार्याशाला गोष्ठी समेत गरिसक्ने अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी गराए ।