चन्द्रागिरी, काठमाडौं ।
दाई हामी डेढ सय वर्षअघि पो पुग्यौं है ?” चन्द्रागिरि डाँडामा पुग्दा हेमन्तले भने । लोकसेवाको परीक्षा दिइरहेकोले उसलाई तिथीमिति कण्ठैजस्तो लाग्थ्यो इतिहासका ।
मलाई भने उसले के भनिरहेको छ, हेक्का भएन ।
चन्द्र शमशेरको रोपवे, मनकामना केबलकार, पर्वतको कुश्मा—बलेबा केवलकार र अहिले चन्द्रागिरी । चन्द्रागिरी तत्कालका लागि पर्यटनमा मात्रै सीमित भएपनि यसले सुदूर भविष्यमा केबलकारको विकास र त्यसबाट राज्य, जनता र व्यवसायीले लिन सक्ने लाभको सुदूर संकेत अवश्य नै गरेको देखिन्छ ।
“चन्द्र शमशेरले डेढसय वर्ष अघि येई डाँडोबाट हैन कार्गो रोप–वे ल्या’को ?” उसले यसो भन्दा बल्ल सम्झिएँ– ‘ए हो त है, चन्द्र शमशेरले विक्रम सम्बत १९२२ मा घोर्शिङ—चिसापानी—चन्द्रागिरी पार गरी काठमाडौँसम्म २२ किलोमिटर कार्गो रोपवेसँग जोडेका थिए ।”

“चन्द्र शमशेरको दूरदर्शिता त्यसपछिका शासकहरुले देखाउन सकेनन नि भाई, नत्र के के भइसक्थ्यो” मैले भने । यदि त्यही रोपवेलाई हवाई कार्गोकारुपमा विकास गर्न सकेको भए नेपाल जस्तो पहाडी देशमा यस्ता रोपवेहरु पहाड र मधेश जोड्ने, पहाड पहाड जोड्ने उत्कृष्ट सेतु हुँदैनथे र ? सँगै आन्तरिक पर्यटनले पनि उत्तिकै गति लिन्थ्यो ।
मनकामनामा केबलकार लिमिटेडले सन् १९९८ बाट १ हजार ३ सय २ मिटरको चितवनको कुरिनटारदेखि गोर्खाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गरेपछि यसले समेत चर्चा पायो । केबलकार चढ्न भनेपछि मानिसहरु पश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङबाट समेत झर्ने गर्थे मनकामना जान ।
तर पनि केबलकारलाई आर्थिकरुपमा व्यवसायका रुपमा, राजस्वका लागि पर्यटनका रुपमा र यात्राका लागि सहज र सस्तो हवाई मार्गका रुपमा न राज्यले सोच्यो न त व्यवसायीले नै ।
सगरमाथादेखि काञ्जिरोवा हिमालसँगै सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ मकवानपुर र चितवनका पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिने यसको विशेषता बनेको छ ।
सन् २०१३ फेब्रुअरीबाट रोपवे र केबलकार प्रा.लि. ले पर्वत उद्योग वाणिज्य सँघको सहकार्यमा कुस्मा—बलेवा यान्त्रिक पुल कम्पनीको सहयोगमा ६०० मिटर लामो कुस्मा—बलेवा केबलकार सम्पन्न गरे । अहिले हजारबढी मानिसले यसबाट फाइदा लिएको बताइन्छ ।
चन्द्रागिरिको नवीन चर्चा
नेपालका डाँडाकाँडाहरुमा केबलकार व्यवसायिकरुपमा पर्यटन र यातायातका लागि ठूलो राहत बन्न सक्ने कुरा पछिल्लो समयमा स्थापना भएको चन्द्रागिरीले देखाएको छ । चन्द्र शमशेरको रोपवे, मनकामना केबलकार, पर्वतको कुश्मा—बलेबा केवलकार र अहिले चन्द्रागिरी । चन्द्रागिरि तत्कालका लागि पर्यटनमा मात्रै सीमित भएपनि यसले सुदूर भविष्यमा केबलकारको विकास र त्यसबाट राज्य, जनता र व्यवसायीले लिन सक्ने लाभको सुदूर संकेत अवश्य नै गरेको देखिन्छ ।
अहिले चन्द्रागिरि केबलकारले मात्रै लाखौं राजस्व सरकारलाई दिने क्षमता राख्ने अवस्थामा पुग्ने देखिन्छ ।
सन् २०१६ मा चन्द्रागिरि हिल्सले अहिले पर्यटकीय क्षेत्रको रुपमा लोकप्रिय बनेको छ । राजधानीमा बढ्दो आबादीसँगै मासिँदै गएका पर्यटकीय क्षेत्र, पर्यटनका क्षेत्रमा नाटकीयरुपमा आन्तरिक पर्यटकहरुको वृद्धिलगायतका चुनौतीलाई यसले पुरा गर्न खोजेको देखिन्छ । राजधानीमा बसेर राजधानी नै देख्न समेत नपाएकाहरुका लागि भालेश्वर महादेवको मन्दिर, ऐतिहासिक दस्तावेज, प्राकृतिक सुन्दरता, मूर्तीचित्र, सुविधाजनक सत्कार, सहरको मनोरम दृश्यसँगै सस्तो मुल्यमा वस्तुको उपलब्धतालाई चन्दागिरी हिल्सले सहज बनाइदिएको छ । सगरमाथादेखि काञ्जिरोवा हिमालसँगै सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ मकवानपुर र चितवनका पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिने यसको विशेषता बनेको छ ।
कहाँ हराए अरु योजनाहरु ?
नेपालमा केबलकारको सम्भावनाका बारेमा बेलाबखत अध्ययन भइरहने गर्छन् तर यसमा गम्भीरता भने देखिन्न । काठमाडौँ, फुलचोकी, खप्तड, रामारोशन, बढीमालिका, शुर्मासरोवर, सिद्धार्थ, बुटवल, मान्मा, कालिकोट, धुलिखेल, काभ्रे, स्वर्गद्वारी, प्युठान, रेसुङ्गा, गुल्मी, पोखरासँगै नयाँ केही सम्भाव्यता सम्पन्न नगरिएका पनि होइनन् । केही स्थानका काम अगाडि बढेका छन् भने अधिकाँश सुरु नै भएका छैनन् । आयोजनाको सुरुवातसँगै तिनको अन्त्यका लागि सरकार, राजनीतिक दलहरू, स्थानीय जनता कुनैपनि कारणले वाधा उत्पन्न नगराई समयमै सम्पन्न गराउनेतर्फ लागेको भए आज ती ठाउँको छनक् अर्कै भइसक्ने थियो ।
गाउँ र सहरको विकासमा रोपवे तथा केबलकार ओखती सावित हुने महशुष गरिएपनि कार्यलाई गन्तव्यमा पु¥याउन सकिएन । फलत् हामी तुइनको जीवन जिउन वाध्य छौँ, पहाडमा चन्द्रागिरिको विकास सम्भव छैन भनेर काकाकुल बनेका छौँ । सँधै भूगोलको कठिनतालाई अनुभव गर्दै अभावको जीवनलाई साथ दिन पुगेका छौँ ।
यातायातको अत्यन्तै जटिल अवस्था भोगिरहेका छन् नेपाली जनता । तुईनको सकस यसको प्रत्यक्ष उदाहरण हो । प्रधानमन्त्रीदेखि मन्त्रीहरुले तुईन विस्थापनको कुरा गरे बेलाबखत, तर त्यसको विकल्प केबलकार हुनसक्नेतर्फ भने कमैको ध्यान गयो ।
केबलकार प्रवर्धन नीतिको खाँचो
केबलकार व्यवस्थापनका लागि राज्यका तर्फबाट प्रवर्धन नीतिको खाँचो देखिएको छ । नेपालका बिभिन्न स्थानमा केबलकार सञ्चालन गर्न सकिने सम्भाव्यताको खोजी, त्यसले आन्तरिक र बाह्य पर्यटनमा पर्ने सकारात्मक प्रभाव, त्यसबाट स्थानीय समुदायले लिनसक्ने लाभजस्ता विषयहरुमा व्यवस्थित अध्ययनका लागि राज्यको पहल आवश्यक भएको हो । यस्तो अध्ययनले यस प्रकारका योजनाहरुको वातावरणीय, सामाजिक र सांस्कृतिक प्रभावको समेत वैज्ञानिक र व्यवस्थित अध्ययन हुन सम्भव हुन्छ । यसका साथै राज्यले नै नीति निर्माण गरेर यसको व्यवसायिक पक्ष, लगानी र लाभांश जस्ता विषयमा समेत नीति निर्माण गरेर योजना निर्माण भइसकेपछिका विवादहरुलाई पहिला नै व्यवस्थापन गर्न सक्ने हुन्छ ।
व्यवसायिकरुपमा केबलकारहरु स्थापना हुँदै जाने, त्यसमा जनताको स्वामित्व र सहभागितालाई राज्यका तर्फबाट नै सुनिश्चित गर्ने हो भने राजधानी उपत्यकाकाका डाँडाहरुले मात्रै करोडौं राजस्व देशलाई दिन सक्छन् । अहिले चन्द्रागिरि केबलकारले मात्रै लाखौं राजस्व सरकारलाई दिने क्षमता राख्ने अवस्थामा पुग्ने देखिन्छ । एकातिर आम जनतामा आन्तरिक पर्यटनको बानी विकास हुनु, अर्कोतर्फ त्यसले लगानीकर्ता र राज्यलाई लाभ हुने अवस्था हुनु, स्थानीय जनतालाई यातायातको सास्ती खेप्नुपर्ने अवस्था नरहनुजस्ता सकारात्मक पक्षलाई हेरेर केबलकारलाई प्रवद्र्धन गर्न चन्द्रागिरी एउटा मोडेल अवश्य हुन सक्छ ।
सामाजिक उत्तरदायित्वको खाँचो
पछिल्लो समयमा चन्दागिरी केबलकार स्थापनापछि त्यसको शुल्क र अन्य विषयमा विवाद देखियो । चन्द्रागिरि केबलकारले आन्तरिक पर्यटन र राजस्वमा दिन सक्ने योगदान भन्दा पनि यो विवाद उसले दिएका सुविधालगायतका विषयमा बढी केन्द्रीत थियो । कतिपय विवादहरु पूर्वाग्रही थिए भने कतिपयले केही सैद्धान्तिक प्रश्न उठान गरेको देखिन्छ ।
यस्ता विषयमा सरकार र लगानीकर्ताहरुले सामाजिक उत्तरदायित्वको मर्मलाई आत्मसात गरेर अघि बढे यी विवादहरुले खासै अर्थ राख्दैनन् । स्थानीय समुदायलाई सब्सिडीदेखि प्याकेजका सुविधा र लाभांशको निश्चित प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने जस्ता कतिपय मोडेलहरु यसमा प्रयोग गर्न सकिन्छ । अहिले चन्द्रागिरि हिल्सले खानपान, गुणस्तर र सरल मुल्यमा वितरण पक्षलाई पहिलो सर्त राखेर विभिन्न रुटमा निःशुल्क बसको सुविधा, विभिन्न चाडपर्वमा सुलभ प्याकेजले सेवाको शुरु गरेको जनाएको छ । यद्दपी यो कुरा सबै केबलकारको हकमा नीतिका रुपमा विकास हुन सके यसले केबलकारलाई अभियानका रुपमा विस्तार गर्न उत्प्रेरक वातावरणको निर्माण गर्न सक्छ ।
स्थानीय तथा केन्द्रको सेतु बनेको चन्द्रागिरिले काठमाडौं उपत्यकाबासीका लागि मात्रै होइन देशभरका मनोरञ्जनप्रेमीको मन जितेको छ । यसको स्थापनाले त्यस क्षेत्रका स्थानीयको आय आर्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । चन्द्रागिरी जस्तै अन्य विकटदेखि समथर क्षेत्रसम्म यो व्यवसायमा थप लगानी बढाउनैपर्ने देखिन्छ । आखिर चाहना हुँदा पहाडमा पनि सुविधायुक्त वस्तुको उपलब्धता गराउनसकिने कुरालाई शिरोधार गर्न मनकामना, कुश्मा यान्त्रिक र चन्द्रागिरीले सिकाएको छ । सबै पक्षबाट मतको भारी बोक्न सफल हुने देखिन्छ ।