उपराष्ट्रपतिले भने-‘जनआन्दोलन होस् वा जनयुद्ध’हरेक आन्दोलनमा मगर समुदाय अगाडि

दमौली, माघ १ । उपराष्ट्रपति नन्दबहादुर पुनले असमझदारी हटाएर संविधान कार्यान्वयनमा लाग्न दलहरुलाई आग्रह गरेका छन् ।

माघेसङ्क्रान्ति पर्वका अवसरमा नेपाल मगर सङ्घ तनहुँद्वारा दमौलीमा आयोजना गरिएको छैठौँ तनहुँ महोत्सवको शनिबार उद्घाटन गर्दै उनले आपसी असमझदारी हटाएर दलहरु संविधान कार्यान्वयनमा जुट्ने विश्वास पनि व्यक्त गरे ।

उपराष्ट्रपति पुनले २०७४ माघ ७ गतेभित्रै तीनवटै तहको निर्वाचन गर्न दलहरु अघि बढनुपर्ने बताउँदै ‘जनआन्दोलन होस् वा जनयुद्ध होस्’ हरेक आन्दोलनमा मगर समुदायले पुर्‍याएको योगदान राष्ट्रले कहिल्यै बिर्सन नसकिने बताए ।

नेपाल बहुजातिक, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक भएकाले सबै जातजाति, भाषाभाषी एकआपसमा मिलेर बस्नु यहाँको उच्चतम विशेषता हो भन्दै उनले निर्वाचनपछि संविधान कार्यान्वयनमा सहयोग पुग्ने र देश समृद्धिको बाटोतर्फ अगाडि बढ्ने बताए ।

नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष सिद्धान्त थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । यसैगरी उपराष्ट्रपति पुनले शनिबार नै महर्षि बेद व्यासको जन्मस्थलमा पुगी व्यास गुफाको समेत अवलोकन गरे । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: