कसले गायब बनायो जनआन्दोलनका घाइतेको एक लाख ?

झापा, माघ १ । सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले दिने घोषणा गरेको रु दुई लाखमध्ये एक लाख गायब भएको छ ।

जनान्दोलनमा घाइते भएका मेचीनगर– ६ धुलावारी बजार निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब भएको हो ।

२०४६ सालको ऐतिहासिक पहिलो जनान्दोलनताका चैत २४ गते काठमाडौँको बागबजारमा पञ्चायतविरुद्ध जुलुसमा सहभागी भएका बेला छातीमा गोली लागेर प्रधान घाइते भएका थिए ।

छातीमा गोलीको दाग बोकिरहेका उनको अहिले पनि घाउबाट पिप बगिरहने गरेको बताउँछन् । प्रधानलाई २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्ले दुई लाख रुपैयाँ उपचार सहयोग दिने निर्णय गरेको थियो ।

सो सहयोगमध्ये एक लाख रुपैयाँ झापा जिल्ला प्रशासन कार्यालय मार्फत गत वर्षको माघमा पाएका थिए, वाँकी एक लाख रकम कहाँ कसले गायब ग¥यो भन्ने पत्ता लगाउनै नसकेको उनले गुनासो गरे ।

‘प्रशासन कार्यालय र गृहमन्त्रालयमा धेरै पटक धाएँ’, प्रधान भन्छन्–“अनेक आलेटाले कुरा गरेर मलाई रकम दिएनन् ।” २०७२ माघ ३ गते गृह मन्त्रालयले झापा जिल्ला प्रशासन कार्यालयलाई एक लाख रुपैयाँको चेकसहित सो रकम झापाका जनान्दोलनका घाइते दिलीप प्रधानलाई उपलब्ध गराई भपाई पठाइदिनु भनी निर्देशन समेत दिएको थियो ।

च.नं.२२२७६३१ को सो पत्रमा पठाइएको एक लाखको चेक उपचार आर्थिक सहयोगबापत प्रधानले पाउने रकमको पेस्की रहेको प्रस्ट उल्लेख छ । तर, त्यसपछि हालसम्म बाँकी एक लाखको अत्तोपत्तो छैन ।

प्रधानले आफ्ना लागि सरकारले उपलब्ध गराएको बाँकी एक लाख रुपैयाँ खोजी गरिदिन स्थानीय राजनीतिक दलका नेता र सांसदलाई गुहारिरहेका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: