डोनाल्ड ट्रम्पलाई चीनको चेतावनी– एक चीन नीतिबारे कुरै नगर

अमेरिकालाई सहयोग गर्न तयार भएको तर प्रतिरोधका गर्न पनि पछि नपर्ने चीनको भनाई

बेइजिङ, माघ २ । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनका बारेमा सम्हालिएर बोल्न चेतावनी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई एक चीन नीतिका बारेमा बयानबाजी नगर्न चेतावनी दिएको हो ।

“एक चीन नीतिमा कुनै सम्झौता हुन्न, न त कुरा नै” चीनको विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

चीन सरकारको विदेश मन्त्रालयको वेभसाइटमा जारी बयानमा “एक चीन नीति अन्तर्गत ताईबानको मुद्दाको संवेदनशीलतालाई बुझ्न ‘सम्बन्धित पक्ष’लाई आग्रह गरिन्छ” भनिएको छ ।

चीनको यो बयान अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानको प्रत्युत्तरका रुपमा समेत हेरिएको छ । ट्रम्पले हालै मात्र एक चीन नीतिबारे कुरा हुने बताएका थिए ।
ट्रम्पले ताइवानका राष्ट्रपतिसँग फोनमा समेत कुराकानी गरेको घटनामा चीनले आपत्ती जनाएको थियो ।

अमेरिका र चीनबीच दक्षिण चीन समुद्रमा सैन्य अभ्यासका विषयमा समेत गम्भीर मतभेद उत्पन्न भएको छ । ओबामा प्रशासनको बेला सम्बन्ध स्थिर रहेको भएपनि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए लगत्तै चीन र अमेरिकाबीच तनाव बढेको हो ।

चीनले आफ्नो सार्वभौमसत्तामाथि कुनै पनि देशको प्रभुत्व स्वीकार नगर्ने स्पष्ट गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा नबोल्न आग्रह गर्दै आएको छ । “अमेरिका र चीनसम्बन्धको राजनीतिक आधारस्तम्भ हो एक चीन नीति” चीनले भनेको छ, “हामी अमेरिकाका राजनीतिक दलहरुलाई ताइवानको प्रश्नको संवेदनशीलता बुझ्न आग्रह गर्छौं ।” चीनले यसअघिका सबै अमेरिकी राष्ट्रपतिले एक चीन नीतिको समर्थन गरेको बताउँदै अहिले यसबारेमा कुनै कुरा उठ्न नसक्ने समेत बताएको छ । “यो विषयमा कुनै सम्झौता हुँदैन” वेभसाइटमा उल्लेख छ ।

अमेरिकालाई कहाँ कस्तो सहयोग गर्नुपर्ने हो, आफुहरु तयार भएको तर प्रतिरोधका गर्न पनि पछि नपर्ने चीनले बताएको छ ।

ट्रम्पको राष्ट्रपति कार्यकालमा चीनसँग तनाव बढ्दै गएको अवस्थामा यसले चीन र अमेरिका दुबैको अर्थतन्त्रमा नै गम्भीर असर पर्ने विश्लेषकहरुले टिप्पणी गरेका छन् । विश्वको दोश्रो ठूलो अर्थतन्त्र र जनसंख्याका दृष्टिले पहिलो चीन र शक्तिशाली अमेरिकाबीच जारी तनावले शत्रुतापूर्ण रुप लिएको खण्डमा यसले विश्व अर्थतन्त्र नै सन् ७० को भन्दा पनि डरलाग्दो आर्थिक मन्दीको खतरा झेल्ने देखिन्छ ।

कतिपयले ट्रम्पले अतिवादी शक्तिहरुलाई उक्साएर फेरी अर्को युद्ध निम्त्याएर हतियारको व्यापारलाई प्रवद्र्धन गर्न खोजेको आरोप समेत लगाएका छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: