पुनःनिर्माणलाई तीव्रता दिन नयाँ सिइओ नियुक्त गरेको कार्यबाहक प्रधानमन्त्री निधिको भनाइ

काठमाडौं, माघ २ । कार्यवाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले आइतबार ‘१९ ‌औं भूकम्प स्मृति दिवस’का अवसरमा यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताए । उनले भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । उनले सबै स्थानीय तहमा सरकारले भवन आचारसंहिता लागू गरेको जानकारी गराउँदै आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचारसंहिताको दायरमा ल्याएको बताए ।

आइतबार देशभरि नै ‘भूकम्पपीडितको सुरक्षाको आधार, भुइँचालो थाम्ने घर र पूर्वाधार’ भन्ने नाराका साथ १९औँ भूकम्प स्मृति दिवस मनाइँदै छ ।

सरकारले विसं १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा केही वर्षयतादेखि भूकम्प स्मृति दिवस मनाउँदै आएको छ ।
रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: