पाल्पामा तीन सयभन्दा बढी एचआइभी सङ्क्रमित

पाल्पा, माघ २ । एचआइभीबाट सङ्क्रमितको सङ्ख्या यहाँ तीन सय पाँच रहेको छ ।

जिल्लामा हालसम्म एक सय ६२ महिला र एक सय ४३ पुरुष एचआइभी सङ्क्रमित रहेको बताइएको छ । सङ्क्रमितमध्ये ८० पुरुष एक सय दुई महिलाले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहेको सक्रिय सेवा समाजले जनाएको छ । एचआइभी सङ्क्रमितको अवस्था, सहयोग र हेरचाहलगायतमा सरकार तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आए पनि सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन ।

समाजका टिम लिडर लीलाराज भट्टराईले जिल्लाका दुई गाविस कसेनी र गोठादीमा नमुना कार्यक्रम सञ्चालन गरेर सङ्क्रमितलाई सहयोग र परामर्श दिइएको बताए ।

नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले एचआइभी सङ्क्रमितलाई सहयोग र तिनको पुनःस्थापना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउँछन् ।

प्रतिबद्ध सहयोग समाजका कार्यक्रम सयोजक लक्ष्मी कुँवरले सङ्क्रमितप्रति समाजमा हेय भावले हेरिने गरेको गुनासो गरे ।

सरकारी तथा गैरसरकारी संस्था बजेट हुँदा आफूहरुलाई गाउँमा खोज्दै जाने र परियोजना सकिएपछि कुराकानी गर्न समेत नमानेको सङ्क्रमितको गुनासो छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: