एएफपी, बेरुत, माघ २ । उत्तर–पश्चिम सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । इदलब प्रान्तको मआरात मसरिन सहरमा आक्रमणमा प्रायः सर्वसाधारण नागरिक मारिएको सिरियन अब्जरभेटरी फर हयुमन राइटस्ले जनाएको छ ।
यो हवाई आक्रमणनजिकको सहर आरुम अल जोजमा शुक्रबार राति पनि आक्रमण भएको थियो, जसमा एक बालकसहित ३ जना मारिएका थिए । त्यसको एक दिनपछि हवाई आक्रमण भएको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमान जनाएका छन् । हवाई आक्रमणमा सिरिया या रसिया आबद्ध भएको रामीले बताएका छन् । यद्यपि यस इदलब प्रान्तमा अमेरिका आबद्धतामा हवाई आक्रमण पनि हुने गरेको छ । सिरियाली शासक समर्थक रसिया र विद्रोहीको समर्थक टर्कीको प्रयासमा डिसेम्बर ३० देखि सिरियामा युद्धविराम लागू भएको र युद्धविरामपछि प्रायस् इलाकामा शान्त थिए । टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौतापछि पनि सिरियामा छिटफुट आक्रमणबाहेक करिब करिब शान्त नै थियो ।
जनवरी २३ देखि काजकिस्तानको अस्तानामा सिरियाको विषयमा शान्तिवार्ता हुने भनिएको छ । अहिले हुने भनिएको शान्तिवार्तामा रसियाको टर्कीको विशेष भूमिका रहेको र यसअघि सरकार र विद्रोहीबीच गरिएका विभिन्न सम्झौतामा वासिङ्टनले पनि विशेष भूमिका खेलेको थियो । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।
गृहयुद्धमा आतंककारी समूह इस्लामिक स्टेट (आईएस) र अल कायदाजस्ता आतंककारी समूह हाबी हुँदै गए । जारी यस युद्धमा परी सिरियामा ३ लाख १२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । युद्धका कारण लाखौं व्यक्ति घाइते र शरणार्थी जीवनयापन गर्नुपरेको छ ।
सिरियाको उत्तरी अलेप्पोको एक गाउँमा ध्वस्त भवन हुँदै हिँडेका दुई व्यक्ति । सिरियामा साढे ५ वर्षको युद्धमा ३ लाख ३० हजार जनाको मृत्यु र लाखौं घाइते तथा घरबारविहीन भएका छन् ।
तस्बिरः रोयटर्स