वीरगन्ज, माघ ४ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव दुई तिहाई मतले पारित गर्न दलहरुसँग संवाद भइरहेको बताएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण तथा पदस्थापना कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उपप्रधानमन्त्री निधिले मधेसका जनता र मधेस नेपालमै भएकाले यसको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान रहेको बताए ।
सङ्घीय प्रणाली देशको अखण्डता जोगाउने प्रणाली भएकाले यसले देशलाई एकसुत्रमा बाध्नेछ भन्दै उपप्रधानमन्त्री निधिले अहिलेको सङ्घीय संरचना लोकतन्त्रको उत्कृष्ट नमूना भएको बताए। उनले संविधान संशोधनको कुरालाई लिएर प्रतिपक्षी दल जुन किसिमको भ्रम फैलाइरहेको छ त्यो उनीहरुको लागि पनि घातक हुने बताए। उनले संविधान संशोधन गरेर तिनवटै निकायको निर्वाचन गराउनु अहिलेको सरकारको प्राथमिकता रहेको स्पष्ट पारे ।
प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नु भएका निधिले सीमा क्षेत्रमा रहेको सडकलाई नेपाल–भारत दुवै देशले बनाउनुपर्नेमा जोड दिए ।
उनले नेपाल–भारत दुवै देशले एक्लाएक्लै विकास गर्न नसक्ने भएकोले दुवै देशले होस्टेमा हैँसे गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री निधिले सरकारले सडक, रेल्वे र यातायात क्षेत्रलाई प्राथमिकतामा राखी विकासको गतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
भारतीय सांसद सञ्जय जैसवालले नेपाल–भारतको सम्बन्ध पुरानो भएकाले दुवै देशले विकासको गतिलाई सँगसँगै लानुपर्नेमा जोड दिए । कार्यक्रम वीरगन्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको थियो । रासस