माघ ४ । नेपाली हाँस्यकलाकार तथा निर्देशक दिपकराज गिरी र दिपाश्री निरौला यतिबेला चलचित्र ‘छक्का पन्जा’ को प्रदर्शनका लागि यूरोप पुगेका छन् । ‘छक्का पन्जा’ पाइरेसी गरेका एक यूवकले आत्महत्या गरेको खबर सार्वजनिक भएपछि अहिले दीपकलाई धेरैले गाली गरिरहेका छन् ।
नवलपरासीका कृष्ण सुवेदीले काठमाडौंमा रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । सामाजिक संजालमा दीपकले टर्चर दिएकै कारण कृष्णले आत्महत्या गरेको भन्दै उनीमाथि आरोप पनि लगाइएको छ ।
उनै दीपकले स्पेनको वार्सिलोनामा आयोजित चलचित्र ‘छक्का पन्जा’ को प्रदर्शन अघि बोल्दै भने– ‘८० प्रतिशत फेक आइडी बनाएर मलाई गाली गरिरहेका छन् ।’ उनले भने– ‘मेरो क्षति भयो भनेर उजुरी गर्दा कोही मान्छे आत्तिएर त्यो दुर्घटना हुन पुग्यो ।
मेरा रियल फ्यानहरुले यो कुरा बुझेका छन् । तर, फेसबुकमा एकदमै बढी चलखेल भइरहेको छ, हामीलाई गाली आइरहेको छ ।
तर, रियल फ्यानहरुले गालीको प्रतिपाद गरिरहेका छन् ।’ कलाकार गिरीले घटनाले आफू मर्माहत भएको भन्दै नेपाल पुगेपछि सुवेदीको परिवारलाई भेट्ने पनि बताए । उनले आफूले एक सातादेखि धम्की दिइरहेको भन्ने आरोप गलत भएको भन्दै प्रमाण जुटाए सजायँ भोग्न आफू तयार रहेको समेत सुनाएको छ ।
उनले भने– ‘एक हप्ता अघिदेखि म यूरोपमा नै थिएँ । कल डिटेल त हुन्छ नि विदेशबाट फोन गरेको पनि ।
त्यो देखाइदिनुहोस्, म सजायँ भोग्न तयार छु ।’ पाइरेसी प्रकरणबारे दीपकले भने– ‘भाइहरुको जीन्दगी बर्बाद हुन्छ, साइवर क्राइममा परेपनि उनीहरु विदेश जान पाउँदैनन् भन्दै अलि सचेत बनाएर छाडिदियौं ।
तर, म ताक्छु मुडो, मुडो ताक्छ घुडो जस्तो भयो ।’ उनले नेपालमा नाम कमाउनु भनेको अभिशाप जस्तै भएको र सेतो लूगामा नचाहेर पनि दाग देखिन्छ भनेका छन् ।
बुधबार दिपक र दिपा नेपाल फर्कने भएको छ ।