एमाले होमियो चुनावमा, शीर्ष नेता देश दौडाहामा

‘चुनाव नगराउन सरकारले विधेयक ल्यायो- महासचिव पोखरेल

विराटनगर, माघ ४ । एमालेले चुनावको लागि सबै शीर्ष नेतालाई उपत्यका बाहिर पठाएको छ । सरकारले निर्वाचन विधेयक अघि बढाएपछि एमाले चुनावमा होमिएको हो । एमालेले आफ्नो कमजोर रहेको तराईका जिल्लामा प्रशिक्षण र सभा गर्ने भएको छ ।

केहीदिनदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली राजधानी बाहिर रहेका छन् । त्यस्तै बरिष्ठ नेता माधवकुमार नेपाल पनि उपत्यका बाहिरको कार्यक्रममा नेता तथा कार्यकताृ भेटघाटमा रहेका छन् । त्यस्तै प्रभावशाली युवा नेताहरु गोकर्ण विष्ट र योगेश भट्टराई पनि तराईका जिल्ला जाने कार्यक्रम तय भइसकेको छ ।

नेकपा (एमालेका)का महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि आवश्यक कानुनको निर्माण नभएका अवस्थामा निर्वाचनको तिथि घोषणा गर्दैमा निर्वाचन हुन नसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा पार्टीको पुरानै अडान कायमै रहेको बताउँदै ‘निर्वाचन गराउने सरकारको मनशाय नरहेको कारण’ सो विधेयक ल्याइएको आरोप लगाए ।

महासचिव पोखरेलले यदि सरकारले निर्वाचन गराउन खोजेको छ भने संविधान संशोधन विधेयक फिर्ता लिनुपर्छ वा स्थगन गरी निर्वाचनका लागि आवश्यक कानुन निर्माणतर्फ अग्रसर हुनुपर्ने बताए ।

उनले भने–“संविधान निर्माणको बेलामा जसरी प्रमुख तीन दलबीच एकता थियो सोहीअनुरुपको एकता संविधान कार्यान्वयनका लागि पनि हुनुपर्छ ।”

स्थानीय निकाय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा उनको जोड थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: