मलेसियाले गैरकानुनी कामदारलाई ‘वर्कपास’ दिने, रोजगारीका थप चार क्षेत्र खुला

मलेसिया, माघ ४ । मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारहरुलाई ‘अस्थायी श्रम स्वीकृति(वर्कपास) दिने भएको छ । मंगलबार विदेशी विदेशी एवं गैरकानुनी कामदारबारे संसदीय समितिको बैठकपछि मलेसियाली उपप्रधान तथा गृहमन्त्री अहमद जहिद हमिदीले उक्त कुरा बताएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो निर्णय लागू भएमा यहाँ गैरकानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले बैधानिकता लिएर रोजगारी गर्न पाउनेछन् । यद्यपि यो निर्णय मलेसियाली महान्यायाधिवक्ताको कार्यालयबाट कानुनी प्रक्रियाबारे टुंगो लागिसकेपछि मात्र लागू हुने जनाइएको छ । गैरकानुनी कामदारले बैध हुन पूरा गर्नुपर्ने पूरा प्रक्रिया एवं शुल्क र समयावधिबारे पनि हाल केही पनि खुलाइएको छैन ।
मलेसियाले गत वर्ष जनवरीमा संशोधित बजेट भाषणसँगै गैरकानुनी आप्रवासी कामदारलाई बैधता दिने घोषणा गरेको थियो । त्यसपछि गत वर्ष फेब्रुअरी १५ देखि ‘पुनः भर्ना एवं स्थानान्तरण कार्यक्रम’मार्फत दर्ता भई योग्य हुने कामदारलाई निर्माण, उत्पादन लगायत क्षेत्रमा रोजगारीमा लगाइएको थियो । त्यतिबेला रोजगारीका विभिन्न थप १७ सहायक क्षेत्रहरु खुला गरिएको थियो । त्यसरी गैरकानुनी कामदारलाई बैधता हुन दिइएको समयावधि सकीएको झण्डै तीन सातापछि मलेसियाको यस्तो निर्णय आएको हो ।

औद्योगिक क्षेत्रहरुमा भएको माग पूर्ति गर्न र गैरकानुनी कामदारको संख्या घटाउन यस्तो अवसर दिन लागेको हो ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार रोजगारदाताले यसअघि विदेशी कामदारलाई रोजगारी दिन अवलम्बन गरेको सामान्य प्रक्रियाअनुसार नै यसपाली पनि गैरकानुनी कामदार राख्न पाउनेछन् । रोजगारदाताले कामदारको लेभी रकम र आवश्यक प्रक्रिया पूरा गरी कामदारको लागि अस्थायी श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ ।

विदेशी कामदारका लागि रोजगारीका विभिन्न चार क्षेत्रहरु पनि खुला गरिएको जनाइएको छ । मलेसियाले गैरकानुनी हैसियतमा रहेका कामदारका लागि अस्थायी श्रम स्वीकृति लिई सेवा, निर्माण लगायत अन्य क्षेत्रका साथै पोल्ट्री फार्म, खानी तथा उत्खनन्, कार्गो ह्याण्डिलिङ र ट्राभल एण्ड टुरिजम् लगायत चार क्षेत्र समेत खुला गरिएको उल्लेख गरेको छ । समाचारहरुअनुसार यीमध्ये उत्खनन् र टुरिज्म क्षेत्र आगामी सन् २०२० सम्मका लागि खुला हुनेछ ।

नेपाली कामदारहरु बढीजसो सेवा, सुरक्षा र उत्पादन क्षेत्रमा कार्यरत छन् । त्यसका अलावा यहाँका थीम पार्क, गल्फ क्लब, होलसेल एण्ड रिटेल सप, टेक्सटाइल, ज्वेलरी, कार वास, वेयलफेयर एसिस्टेन्ट, मार्केट्स, पेट्रोल स्टेशन, हाइपर मार्केट, खानी, फर्नीचर, वायर हाउस, पोर्ट कार्गो लगायत विभिन्न क्षेत्रमा पनि विदेशी कामदार कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: