पूर्व–पश्चिम रेलमार्ग बन्ने निश्चित, ११ हजार १ सय २३ रुख काट्न सिफारिस

काठमाडौं, माघ ४ । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सम्भाब्यता अध्ययन थालिदै गर्दा तराईमा पूर्व–पश्चिम रेलमार्ग बन्ने निश्चित भएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको रेल विभागले रेलमार्ग निर्माणका लागि रुख कटानका लागि स्वीकृति मागेको छ । मेची–महाकाली रेलमार्गअन्तर्गत १०८ किलोमिटर वर्दिबास–सिमरा खण्डमा पर्ने सागरनाथ वन विकास परियोजनाका ११ हजार १ सय २३ ओटा रुख काट्न सिफारिस मागिएको विभागले जनाएको छ ।

परियोजनाअन्तर्गत सर्लाही र महोत्तरीमा पर्ने वनमा रहेका साल, साज, मसला, बाँझी, सिमल, सत्तीसाल, कर्मा, जामुन, खयर, टिक, सिसौलगायत गरी करिब १ लाख ५० हजार क्युविक फिट काठ काट्न विभागले स्वीकृति मागेको छ । मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले रुख कटान गर्ने स्वीकृति दिएपछि काम अघि बढ्ने रेल विभागको भनाइ छ ।

रुखविरुवा नभएका ठाउँ तथा खोलानालमा समेत काम गर्न मन्त्रालयले स्वीकृति प्रदान नगर्दा निर्माणको जिम्मा पाएको परियोजनाले काम तीब्र गतिले अघि बढाउन सकेको छैन ।

वन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर उक्त प्रस्ताव पारित गराउनु पर्नेछ । मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले आइतबारदेखि अवकाश पाएपछि त्यसको जिम्मेवारी भने सहसचिव डा. प्रेमनारायण कँडेललाई दिइएको छ ।

कमेन्ट गर्नुहोस्