स्ववियू चुनावमा ‘उमेर हद’को सकस !

ढोंगी विद्यार्थीहरूको आगमनले प्रणाली बिग्रीएको मत छाइरहंदा भावि पिंढीले पनि त्यहि कार्यलाई निरन्तरता दिने हो भने संगठनको आवश्यकता देखिंदैन ।

त्रिभूवन विश्वविद्यालयले ८ वर्षपछि स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको घोषणा गरेको छ । फागुण १४ गते घोषणा गरिएको चुनावको घोषणासँगै यसपटक ‘उमेर हद’को नयाँ विवाद देखिएको छ ।

सबै विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी यूनियनको माग गर्दै आएपछि विश्वविद्यालयले मिति नै तोक्न सकेको थिएन । विद्यार्थी संगठनहरुले मिति तोक्न माग गर्नुका साथै चुनावमा उम्मेद्वार उमेर हद्को २८ वर्षे थ्रेसहोल्डको समेत कुरा उठाएका थिए । यो उमेर हदको विषयमा भने विद्यार्थी संगठनबीच एकमत बन्न सकेको थिएन । तर त्रिभुवन विश्वविद्यालयले यसपटकको निर्वाचनमा नै लागु हुने गरी चुनावमा उम्मेद्वार बन्न उमेर हद बढीमा २८ वर्ष उल्लेख गरेको छ । यसले विद्यार्थी संगठनहरुबीच नै मतभेद र विवाद सिर्जना गरेको छ । यो विवादले ‘यसपटक पनि चुनाव होला की नहोला ?’ भन्ने आशंका समेत उब्जिएको छ ।

उमेर हदमा फरक मत
उमेर हद लागु गर्ने र नगर्ने पक्षमा बाँडिएका विद्यार्थीहरुले यसबारेमा आफ्नैखाले तर्क दिएका छन् । कतिपयले विद्यार्थी बन्न उमेरको हद नहुने र जुनसुकै उमेरकाले पनि कलेज, क्याम्पस भर्ना गर्नसक्ने भन्दै यसलाई नियन्त्रणकारी बताएका छन् । उनीहरुको मतमा उमेरको हद लोकसेवा, सैनिक, प्रहरी र अन्य वृत्तिमा लागू हुनुपर्ने देखिन्छ । तर उमेर हद नभएकै कारण विद्यार्थी यूनियनको चुनाव केही विद्यार्थी नेताको ‘वृत्ति’ जस्तै भएकोले या लागु गर्नुपर्छ भन्ने अर्काथरीको मत छ । उमेर हद लगाए मात्रै वास्तविक विद्यार्थी नेतृत्वमा आउने उनीहरुको जिकिर छ । सैद्धान्तिकरुपमा विद्यार्थी बन्न या शिक्षा आर्जन गर्न उमेरले छेक्दैन, त्यो अर्थमा पहिलो मत सही देखिन्छ । तर नेपालको सन्दर्भममा विद्यार्थी यूनियनको चुनावमा पढाईलाई भन्दा आफ्ना राजनीतिक क्यारिअरका लागि स्ववियू निर्वाचनलाई महत्व दिन खोज्ने प्रवृत्तिका कारण भर्ना मात्रै गर्ने र चुनाव कुर्ने परिपाटी अन्त्य गर्न उमेर हद तार्किक देखिन्छ । कतिपयले यो प्रवृत्ति रोक्न उमेर हद भन्दा पनि अन्य विकल्प र नीतिको खोजी गर्नुपर्ने तर्क समेत नगरेका होइनन् ।

विद्यार्थी संगठन नै विभाजित
नेविसंघ उमेर हद लागू गर्न नहुने पक्षमा थियो । अखिल क्रान्तिकारी लागू गर्ने पक्षमा वकालत गरिरहेको थियो भने अनेरास्ववियु भने उमेर हद लागू गरेपनि नगरेपनि चुनाव हुनुपर्नेमा देखिएको थियो । यहि विवादको टुंगो लगाउन ०७२ असार २९ गते बसेको त्रिवि सभाले शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेपनि अघिल्लो मंगलबारसम्म निचोड निकाल्न सकेको थिएन ।

उमेर हदको विषय बारेमा त्रिवि सभाले निर्णय गर्ने बताइएको थियो । उमेरको पक्षमा होस या विपक्षमा दुबै धारिलो हतियारको चपेटामा छन् । तर, विद्यार्थी संगठनहरू आचारसंहितामा निर्वाचन भड्किलो नबनाइने, सभा गर्न नपाइने, क्याम्पस स्वयँले नै उम्मेद्वारको परिचयात्मक कार्यक्रम गर्ने, कुनै संगठनमा उम्मेद्वारको विवाद भएमा केन्द्रीय नेतृत्वले मिलाउने, समानुपातिकको सूची पहिल्यै बुझाउनुपर्ने जस्ता कुराहरूमा भने अगाडि नै एकमत रहेका थिए ।

स्ववियुको इतिहास
स्ववियुको जग भनेर वि.सं. २००४ को जयतु संस्कृतम् आन्दोलनलाई बुझिन्छ । ००७ सालको राजनीतिक परिवर्तनले क्याम्पसहरूमा छात्र संघ गठन भएको थियो । पछि ०२० बाट शुरुभएको छात्र कार्य समितिलाई ०२८ सालको नयाँ राष्टिय शिक्षा योजनासंगै बन्द गरि विद्यार्थी कल्याण शाखा गठन गरिएको थियो । ०३६ को जनमतसंग्रहपछि पुनः स्ववियुको गठन गर्ने छुटसंगै ०४६ पछि त सुनिश्चित नै गर्यो । यो बीचको अवधिमा विद्यार्थी आन्दोलनले विद्यार्थी हक र शैक्षिक मुद्धालाई सँगै लिएर हिंडेको थियो । तर, समयसंगै बढ्दो बेथितिलाई आत्मसात गर्दा विद्यार्थी राजनीतिलाई ढालको रुपमा प्रयोग गरिन थालियो । गर्दा—गर्दा अहिले संगठनहरूले आफ्नो इतिहास नै बिर्सिसकेको भान हुन्छ ।

चुनावको चटारो, क्याम्पसमा चहलपहल
स्ववियु चुनाव विद्यार्थीहरूको नैसर्र्गिक राजनीतिक अधिकार हो । यसमा उनीहरूले स्वतन्त्र निर्णय गर्न पाउनै पर्दछ भन्ने एउटा मत छ । शिक्षा क्षेत्र सक्षम बनाउन सकेमात्र सम्पूर्ण पक्षहरू सफल हुने हुनाले पनि सहि नेतृत्वको आशामा विद्यार्थी जुट्नु स्वभाविक हो । तर स्ववियु चुनाव प्रचार—प्रसार, भर्ना र नारामा ‘को भन्दा को कम’ भनेर अस्वस्थ्य प्रतिष्पर्धा हुने अवस्था हामीकहाँ छ । भर्नामा जालझेल र शैक्षिक वातावरणमा खलल् पुग्ने क्रम यसका मजबुद प्रमाणहरू हुन् । क्याम्पस वरपर विद्यार्थीहरूको व्यापक सहभागिता, सरोकारवालाहरूको बाक्लो उपस्थिति साथै संधैको भन्दा नमस्कार र सत्कारको शैलीमा वृद्धि निर्वाचनताकाका छनक हुन ।

अहिले नेताहरू मत बढाउन अनेक तरिकाबाट व्यस्त देखिन थालेका छन् । सबै विद्यार्थीकै आतिथ्यमा देखिन्छन्  । क्याम्पस प्रशासन पनि विद्यार्थी भर्नामा व्यस्त देखिन्छन् । भर्नाको यो मौसममा विद्यार्थीको ओर्जिनल ट्रान्सक्रिप्ट बेगर फोटोकपीमा सजग देखिंदैनन् उनीहरू । यो अवस्थालाई तत्काल रोक नलगाउने हो भने स्ववियु चुनावको नेतृत्व कहिल्यै पनि यूवा र पढ्दैगरेका विद्यार्थीहरूको हातमा जान सक्दैन । यसको साथै क्याम्पसमा बसेको र समय बिताएको भरमा टिकटमा बर्चश्व हुनुले पनि मूख्य विद्यार्थीको पहुंच न्यून हुंदै गएको स्वीकार गर्न सकिन्छ । उमेरहदले यो शुन्यतालाई मेटाउन धारिलो हतियार सावित हुने संख्याले न्याय पाएको अवस्था देखिन्छ ।

कस्तो हुनुपर्छ स्ववियु ?
स्ववियु विशुद्ध विद्यार्थी कल्याण, हक, हितमा केन्द्रित हुनुको साटो जनभावनाको सहि प्रतिनिधित्व गर्न नसकेको, बिग्रेको शैक्षिक गुणस्तरीयता सुधार्न दिर्घकालीन प्रयत्न नगरेको, परीक्षा प्रणाली र प्रशासकिय सुधार गर्न विश्वविद्यालयलाई दवाब दिने कार्य भन्दा राजनैतिक अखडालाई विस्तारमा केन्द्रित रहेको आरोपहरू लाग्नुुले स्ववियु माथि अबका दिनमा अझ बढी चुनौतिहरू थपिएको छ । यो हुनुको पछाडी अनेक कारणहरू होलान् तर चुनाव नहुनु पहिलो कारणभित्र पर्दछ । तसर्थ, अबको मितिमा स्ववियु चुनाव निश्पक्ष र पारदर्शी हुनैपर्दछ । लुकाछिपी, जालझेल र विवादास्पद काम कारवाहीबाट टाढा रही विद्यार्थीमूखी कार्यमा नेतृत्व लिन् हुनुपर्दछ । सीमित स्वार्थको लागि क्याम्पस प्रशासनको ललीपप्मा नभूलिकन् विद्यार्थी र ऊसंग सम्वन्धित विविध पक्षहरूमा अब चाहीं निश्पक्ष लाग्नुपर्ने देखिन्छ । यसकारण पनि सफल नेतृत्व चुन्नको लागि एक दिनको विद्यार्थी भन्दा पनि मुख्य विद्यार्थीको भर्ना गर्नु जरुरी देखिन्छ ।

ढोंगी विद्यार्थीहरूको आगमनले प्रणाली बिग्रीएको मत छाइरहंदा भावि पिंढीले पनि त्यहि कार्यलाई निरन्तरता दिने हो भने संगठनको आवश्यकता देखिंदैन । यस कुरामा सबै संगठनहरू सचेत हुनैपर्ने देखिएको छ । भिडन्त मतमा होस् शरिरमा होइन । जसरी भएपनि व्यालेटको व्यवस्थालाई आत्मसात गरिनु पर्दछ, न की बुलेटको । चुनाव तय भयो भने शान्तिपूर्ण तरिकाले सम्पन्न गरिनैपर्दछ ।

अहिले विद्यार्थी हक—हितका लागि खोलिएका विद्यार्थी संगठनहरू मूख्य पार्टीका बन्द, हड्ताल, चक्काजाम आदि कार्यमा सक्रिय पारिनुले पनि स्ववियु प्रतिनिधित्वमा प्रश्न उठेको हो । दिशाबिहिन अवस्थामा परिभाषित गर्न थालिएको हो । अब यस्ता कुराहरूबाट टाढा पन्छंदै सांच्चै विद्यार्थी जनकल्याणमा जुटी बिग्रंदो शैक्षिक वातावरणलाई सुधार्ने जिम्मेवारी अहिलेको यूवाले लिन सके मात्र सच्चा स्ववियुको नामाकरण गर्न सकिन्छ । अबको चुनावबाट राजनीतिक दल तथा विद्यार्थी संगठनहरूले नयाँ तरिकाबाट स्ववियुको पहिचान र कार्यको थालनी गर्नमा सहयोग गर्नुपर्ने देखिएको छ । साथै विद्यार्थीहरूले पनि त्यस्तै संगठन र व्यक्तिलाई नेतृत्वमा साथ दिंदै सबै वर्ग र तहका विद्यार्थीहरूको पहुंचतामा वृद्धि गरी उनीहरूका मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राखेर नेतृत्व चुन्नसक्नु जरुरी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: