भारतीय व्यापारीको बखेडाका कारण नेपाली किसान मारमा

पाँचथर, माघ ५ । नेपाली उत्पादन गरेको अदुवा भारतीय व्यापारीले खरिद गर्ने गरेकोमा यस वर्ष भने भारती भारतीय व्यापारीले अदुवा खरिदमा बखेडा झिकेपछि नेपाली किसान चिन्तित बनेका छन् । भारतीय व्यापारीले अदुवाको उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै अदुवा खरिद गर्न मानेछका छैनन् ।

भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । गतवर्ष यही याममा अदुवा प्रतिकिलो रु ८० सम्ममा बिक्री गरेका किसानलाई अहिले व्यापारीले अहिले प्रतिकिलो रु १० भन्दा बढी दिन नमानेपछि किसानहरु मारमा परेका हुन् ।

मङ्सिर र पुस अदुवा खनेर बिक्री गर्ने समय भएकाले किसानले अदुवा खनेर थुप्रो लगाएको तर विक्री भने गर्न नसकिएको किसान महासङ्घका जिल्ला अध्यक्ष गणेश पोख्रेलले बताएका छन् । धानखेती छोडेर अदुवा खेतीतर्फ लागेका त्यहाँका किसानहरुको अहिले विजोग भएको उनले बताए ।

सरकारले यहाँका किसानको समस्या समाधान गर्न पहल गरिदिए हुन्थ्यो भन्ने आशा उनले व्यक्त गरेका छन् । अदुवा बिक्री हुने मुख्य याम मङ्सिरदेखि माघसम्म हो । तर अहिलेसम्म अदुवा बिक्री हुने छाँटकाँट देखिएको छैन ।

पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका किसान अदुवा बिक्री हुन नसकेपछि मारमा परेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: