काठमाडौं, माघ ५ । विदेशमा गएर काम गर्ने नेपाली कामदारहरुका लागि पनि सरकारले सञ्चय कोषको स्थापना गर्ने भएको छ । आगामी एक वर्षभित्र उक्त सुविधाको कार्यान्वयन हुने कर्मचारी संचयकोषले जनाएको छ ।
यसबाट प्रवासी नेपालीले स्वदेश फर्किएपछि पनि कोषबाट बचतसहित विभिन्न सुविधा उपयोग गर्न सक्नेछन् । अहिले कर्मचारी सञ्चयकोष अन्तर्गतका वचतकर्ताले पाइरहेका सबै सुविधा विदेशमा काम गर्नेले पनि पाउनेछन् । सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले विदेशमा कमाएको पैसा बचत गराउने गरी कर्मचारी सञ्चय कोष ऐन २०१९ को संशोधनभए पनि अब नियमावली संशोधन गरिँदैछ ।
नियमावलीका लागि कोषले मस्यौदा तयार गरिसकेको र अब अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषदले यसलाई स्वीकृति दिएपछि विदेशमा बस्ने नेपालीको बचत सञ्चय कोषमा ल्याउने प्रक्रियाको थालनी हुनेछ ।
आगामी आर्थिक वर्ष २०७४/७५ बाट विदेशमा काम गर्ने नेपाली पनि सञ्चय कोषमा आवद्ध हुन सक्ने कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा साउदी, कतार, युएई, कुवेत लगायत खाडी मुलुकहरुबाट कामदारको रकम कोषअन्तरगत ल्याउने प्रक्रिया थालिने छ ।
त्यसपछि लगत्तै मलेसियाका नेपाली कामदारलाई पनि कोषमा आवद्ध गर्ने योजना बनेको छ । पहिलो चरणमा खाडीबाट सुरु गरेर त्यसलाई क्रमशः अन्य देशहरुमा पनि विस्तार गर्ने कोषको योजना रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
कोषले प्रवासी कामदारले कोषमा खाता खोल्ने र त्यसैमार्फत बचत रकम भुक्तानीको व्यवस्था गर्ने बताएको छ । विदेशबाट कामदारले ३ वा ६ महिनामा एकैपटक बचत गर्न सक्ने गरी व्यवस्था मिलाइने भएको छ ।
अहिले कोषमा निजामती सेवा, सेना, प्रहरी, शिक्षकसहित संगठित क्षेत्रमा काम गर्ने १० जनाभन्दा धेरै स्थायी कर्मचारी भएको जुनसुकै संस्थाले मात्रै कोषमा रकम जम्मा हुने गरेको छ । अब नियमावली संशोधन पनि छ यो व्यवस्थामा आमूल परिवर्तन हुँदैछ । नियमावली पारित पारित भएपछि स्वरोजगार रहेका जोसुकैले पनि कोषमा रकम जम्मा गर्न सक्नेछन् ।