अलपत्र नेपाली कामदारलाई खाना खुवाउन सरकारले दियो १६ लाख, मुद्दा लड्न वकिल उपलब्ध गराउन समेत पहल गरिने

काठमाडौं, माघ ५ । विदेशमा रोजगारीका क्रममा समस्यामा परेका र दूतावासको शरणमा आइपुग्ने नेपालीलाई खाना खुवाउन सरकारले १६ लाख नेपाली रुपैयाँ पठाउने भएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले खाडी र मलेसियामा रहेका नेपाली दूतावासहरुलाई १६ लाख रुपैयाँ पठाउने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष श्रममन्त्री सूर्यमान गुरुङको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । बैठले साउदी अरब र मलेसियालाई ५र५ लाख रुपैयाँ र युएई, कतार र कुवेतलाई दुई लाखको दरले १६ लाख दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  मलेशियामा नेपालीहरू कार्यरत पन्जा कम्पनीहरूमा 'श्रम शोषण'

विदेशमा काम गर्ने क्रममा कम्पनी छोड्नुपर्ने बाध्यता हुँदा कतिपय कामदारले दूतावासको शरण लिनुपरेको अवस्था रहेको छ । कामदारले दूतावासमा शरण लिँदा उनीहरुलाई खाना खुवाउन यो सहयोग दिइएको हो । यसअघि दूतवासले बिभिन्न श्रोतबाट यो खर्च जुटाउँदै आएको थियो ।

बोर्डले विभिन्न अभियोग लागेर जेलमा रहेका नेपालीलाई वकिल उपलब्ध गराउन लाग्ने खर्चको विषयमा एउटा मापदण्ड बनाउने निर्णय गरेको छ । दूतावासले वकिल उपलब्ध गराउन बोर्डलाई अनुरोध गरेको हुनाले कल्याणकारी कोषको रकम परिचालन गर्ने विषयमा मापदण्ड बनाउन लागेको हो । खाडी तथा मलेसियाका जेलमा निर्दोष नेपाली परे पनि वकिलको अभावमा मुद्दा लड्न नसक्दा वर्षौसम्म बिनाअपराध सजाय भोग्न बाध्य हुने गरेका छन् ।

याे पनि पढ्नुस  श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थाल्याे

बोर्डले अन्तर्राष्ट्रिय श्रम बजारको खोजी तथा अध्ययनको लागि श्रम राज्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय लिएको छ । सो समितिमा रहने पदाधिकारी, समितिको कार्यविवरण लगायत विषयमा बोर्डका अध्यक्षले तोक्ने निर्णय गरेको छ । बोर्डले कल्याणकारी कोषमा जम्मा गर्ने रकम बढाउन कार्यकारी निर्देशक रघुराज काफ्लेको संयोजकत्वमा समिति बनाएको छ । यसलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्