औषधि पसलको टेन्डरमा मापदण्ड पुगेन

विराटनगर, माघ ६ । कोसी अञ्चल अस्पताल विराटनगरमा सरकारको निर्देशनअनुरुप फार्मेसी सञ्चालनमा समस्या देखिएको छ ।

फार्मेसी सञ्चालनका लागि औषधि खरिद गर्न अस्पतालले दोस्रोपटक टेन्डर आह्वान गर्दा समेत पर्याप्त औषधिका लागि आवेदन नपरेपछि फार्मेसी सञ्चालनमा ढिलाइ भएको हो । सरकारले सरकारी अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले टेन्डर खोलेको थियो ।

याे पनि पढ्नुस  काठमाडौंंमा यस्तो पनि औषधि पसल, जहाँ ५० प्रतिशत छुट पाइन्छ !

एक महिना समय दिई आह्वान गरिएको पहिलो टेन्डरमा मापदण्डअनुरुप आवेदन नपरेपछि पुनः टेन्डर खोलिएको थियो ।

दोस्रो पटक खोलिएको टेन्डरमा मापदण्डअनुरुप कम्तीमा ४०० प्रकारका औषधि हुनुपर्नेमा त्यसको २५ प्रतिशत औषधिका लागि मात्र आवेदन परेको अस्पतालका सुपरिटेन्डेन्ट डा.रोशन पोखरेलले बताए ।

याे पनि पढ्नुस  औषधि अभाव बढ्न थाल्यो

“मापदण्डअनुरुप टेन्डरबाट औषधि नआउने देखिएकाले दोस्रो चरणबाट हामीले सय थरीका औषधिको टेन्डर बुझिसक्यौ, बाँकी ३०० प्रकारका औषधि आर्थिक नियमावली बमोजिम रु.पाँच लाख बराबरको आफै व्यवस्था गर्छौं”– डा.पोखरेलले बताए ।

सरकारको निर्देशनअनुरुप अस्पतालले आफ्नो भवनमा सञ्चालन भइरहेको औषधि पसललाई बन्द गराई आफै फार्मेसी सञ्चालन गर्नुपर्ने छ । यसअघि सर्वोच्च अदालतले समेत देशका सबै सरकारी अस्पताललाई आफै फार्मेसी खोल्न निर्देशन दिइसकेको छ ।

कमेन्ट गर्नुहोस्