गुरु र शिष्यबीच अवैध सम्बन्धमा नवाजुद्दिनको बेजोड अभिनय– चलचित्र ‘हरामखोर’

हरामखोर भन्ने शब्दको ठ्याक्कै नेपाली अर्थ भेटिँदैन । ‘अवैध सन्तान’ भन्न सकिएला, त्यसो त ‘हरामी’ नै प्रचलित भइसकेको छ नेपालीमा पनि ।
आमरुपमा बिहा नगरेकी महिलाबाट जन्मिने बच्चालाई हरामी भन्ने गरिन्छ ।

अहिले यो गाली बनेको शब्द ‘हरामखोर’ चर्चामा रहेको छ । कारण हो यही नाममा बनेको चलचित्र ।

त्यसो त तीनवर्ष अघि बनेको हो चलचित्र हरामखोर । चलचित्रका मुख्य नायक छन नवाजुद्दिन सिद्दिकी । नवाजुद्दिनको अभिनय नै चलचित्र चर्चामा ल्याउन पर्याप्त मानिन्छ । ‘बजरङ्गी भाईजान’का पत्रकारदेखि अन्य कैयन् भूमिकाले उनलाई बेजोड बनाएको छ ।

यिनै बजरङ्गी नवाजुद्दिन र श्वेता त्रिपाठीबीचको अवैध सम्बन्धको वरिपरि घुमेको छ चलचित्र ‘हरामखोर’ ।

मध्यप्रदेशको एउटा गाउँको कथा हछ चलचित्रमा । चलचित्रका निर्देशक हुन श्लोक शर्मा । “देव डी” र “ग्याङ अफ वाशेपुर”बाट चर्चित निर्देशक । चलचित्रले

भारतमा रिलिज हुनु अघि नै लस एन्जेल्स फिल्म फेस्टिबलमा इण्डियन क्याटोगरी अन्तर्गत अवार्ड समेत जितिसकेको छ ।

श्वेता त्रिपाठी मसानबाट चर्चित बनिन् । मसान र तृष्णामा उनको अभिनय बेजोड छ ।

उम्दा कलाकार र फरक विषयबस्तु भएपनि चलचित्र हरामखोरले समीक्षकहरुको आँखामा पुरै न्याय भने गर्न सकेको छैन । चलचित्रको कथाबस्तु नयाँ भएपनि फिल्म मेकिङको अवस्थाले कथा कता कता हराएको अनुभूति गर्छन् दर्शक । तर कतिपयले भने चलचित्रलाई निकै राम्रो भनेर समेत टिप्पणी नगरेका होइनन् ।

नवाजुद्दिन बनेका छन् गणितका मास्टर । मध्यप्रदेशको एउटा सरकारी स्कूल । साँझ ट्युशन पठाउँछन् । अलि अलि मनमौजी स्वभाव । केही समयअघि उनले आफ्नै विद्यार्थी सुनितासँग बिहा गरेका हुन्छन् र अब उनको प्रेम हुन्छ आफ्नै श्रीमतीकी साथी र आफ्नी विद्यार्थी सन्ध्यासँग । यता माष्टरको प्रेम सन्ध्यासँग उता ट्युशन पढ्न आउने अर्का विद्यार्थी कमलले पनि सन्ध्यालाई मन पराउने । सन्ध्या भने आफ्ना ट्युशन मास्टर श्यामसँग नै प्रेम गर्छिन र यी दुईबीच यौनसम्बन्ध कायम हुन पुग्छ । गुरु र शिष्यबीचको यो अवैध सम्बन्ध र कमलको सन्ध्याप्रतिको आशक्तिको त्रिकोणीय असमञ्जस्यताबीच कथा डोरिन्छ ।

चलचित्रको विषयबस्तु नयाँ छ र कतिपय अवस्थामा आम समाजमा देखिने दृश्य जस्तो । त्यसो त गुरु र शिष्यबीचको यौनसम्बन्ध स्वीकार्य छैन भारतीय र नेपाली समाजमा । र, पनि यस्ता घटनाहरु भइरहेका हुन्छन् । तर समस्या चलचित्रको सम्पादनमा छ । दर्शकलाई चलचित्रको कथाबस्तुसँग बाँधिराख्न चलचित्र पुरै सफल भएको देखिन्न । घटनाहरु छरिएका छन् । सेन्सर बोर्डले कतिपय दृश्यहरुमा कैंची चलाएपनि बेलाबखत ‘डिस्क्लेमर’ अर्थात् दृश्यसँग जोडिएका विषयमा चलचित्रमा आउने सूचना देखिरहन्छन् । यसले समेत कतिपय अवस्थामा दर्शकलाई मूलकथाबाट दिग्भ्रमित गर्दछ । चलचित्रको समस्या भनेको निर्देशन र सम्पादन को देखिन्छ । चलचित्रको विषय ‘बोल्ड’ भएकोले सेन्सरले कैंची चलाएको छ । सम्पादनको पक्षलाई राम्रो गरेको भए बोल्ड नै देखाउनुपर्ने अवस्था नहुन सक्थ्यो ।

अर्कोतर्फ सन्ध्या र उनका बुवाबीचको सम्बन्ध या भनौं सन्ध्याको परिवारको कथा पूर्ण देखिन्न । सन्ध्याका बुवा इन्सपेक्टर छन् र मदिराममा लट्ठ हुन्छन् । उनको पनि अवैध सम्बन्ध छ कोहीसँग । तर यो कुरा अलि फरक ढंगले उठाउन गरेर त्यही कारण सन्ध्यामा आफ्नो टिचरप्रति आशक्ति र सम्बन्ध विकास गर्ने मानसिकताले जन्म लिएको देखाउन सकिन्थ्यो । यो पक्षमा चलचित्र अलि कमजोर छ ।

अभिनयका दृष्टिले चलचित्र उत्कृष्ट नहुने कुरै भएन । कारण छन् श्वेता र नवाजुद्दिन । नवाजुद्दिनले जीवन्त अभिनय गरेका छन् चलचित्रमा । गाउँको शिक्षकको भूमिका उनलाई निकै सुहाएको छ र मेहनत पनि उत्तिकै देखिन्छ । श्वेता त्रिपाठीको अभिनय हेर्दा हामी साँच्चिकै गाउँ पुग्छौं । लाग्छ, कुनै गाउँकी युवती हुन यिनी अभिनय गर्ने । त्यसैगरी सन्ध्याको प्रेमी बनेका कमल र साथी मिन्टूको अभिनय समेत बेजोड छ । अभिनयका दृष्टिले चलचित्र उत्कृष्ट छ ।
चलचित्रमा गीत एउटा राखिएको छ । गीत किन राखिएको हो भन्ने कुरा निर्देशकलाई पनि थाहा छैन जस्तो यसको कुनै सम्बन्ध देखिन्न चलचित्रसँग ।

सम्पादन कमजोर भएपनि चलचित्र हेर्न लायक बनेको छ । कतिपय कमी हुँदाहुँदैपनि यसले नयाँ विषयबस्तु, नयाँ लोकेशन र अभिनयको बेजोडता प्रस्तुत गरेको छ । तर भारतीय बक्स अफिसमा दंगलदेखि ह्याट्रिकले टक्कर लिइरहेको बेला चलचित्रको बजार पक्ष के हुन्छ त्यो भने भविष्यको हातमा छ । चलचित्रमा नयाँपन र अभिनयको पक्षलाई मन पराउनेहरुका लागि चलचित्र हेर्न लायक छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: