लखनउ (भारत) माघ, ६ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बिहीबार बिहान सवेरै एक विद्यालयको बस र बालुवा बोकेको ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा २४ बालबालिकाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उच्च गतिमा रहेको ट्रक बससँग ठोक्किँदा भएको यस घटनामा परी अन्य दुई दर्जनभन्दा बढी बालबालिका घाइते भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी जाभेद अहमेदले जानकारी दिएका छन् ।
अर्का एक प्रहरी अधिकारी दलजित चौधरीका अनुसार बाक्लो कुहिरोका कारण दृश्यतामा आएको कमीले गर्दा सो दुर्घटना भएको हो । इताह सहरको एक विद्यालयमा अध्ययनरत् ती बालबालिका ३ देखि १२ वर्षसम्मका रहेको बताइएको छ ।
भारतमा गत वर्षमात्रै झन्डै एक लाख ५० हजार व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली प्रकट गरेका छन् । रासस