देउवा भन्छन्– ‘तत्काल सरकार परिवर्तन असम्भव, पहिला संविधान कार्यान्वयन’

चितवन, माघ ७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनपछि सरकार परिवर्तन हुने बताएका छन् ।

प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले चैतमा सरकार परिवर्तन गर्ने भन्ने हल्लामा सत्यता नरहेको स्पष्ट पारे । ‘हामीले स्थानीय निकायको चुनाव गरिसकेपछि अर्काे सरकारको बारेमा सोच्नेछौं,’ चुनाव नभई नयाँ सरकार बनाउन नहुँने उनले बताए ।

संविधानसभामा निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने छ भन्दै उनले निर्वाचन विधेयक पारित गर्न ढिलाइ भएकाले निर्वाचनसमेत ढिलो भएको बताए ।

पत्रकारका प्रश्नमा नेता देउवाले संविधान संशोधनमाथि अब हुने छलफलमा विपक्षी दलले अवरोध नगर्ने विश्वास व्यक्त गरे । आजको एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्छ भन्दै उनले सङ्घीय गणतान्त्रिक लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।

मधेसी जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको बताउँदै सभापति देउवाले सबैका मागलाई सम्बोधन गर्न नसके संविधान कार्यान्वयन जटिल बन्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: