पुनःनिर्माण कार्यलाई तीव्रता दिन मन्त्री पाण्डेको निर्देशन

गोरखा, माघ ७। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले पुनःनिर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

पुनःनिर्माण कामलाई सघाउन गठन भएको जिल्ला समन्वय समितिको आज गोरखा सदरमुकाममा बसेको बैठकमा उहाँले गोरखाका ५८ हजार लाभग्राहीमध्ये करिब ५४ हजारले पहिलो किस्ताको रकम बुझेपनि उनीहरु सबैले अहिलेसम्म घर नबनाएकोमा चिन्ता व्यक्त गर्दै समितिका सदस्य तथा स्थानीय प्रशासनलाई पुनःनिर्माण कार्यलाई गति दिने गरी काम अगाडी बढाउन निर्देशन दिएका हुन् ।

बैठकमा अहिलेसम्म पुनःनिर्माणका क्षेत्रमा भएका कामको समीक्षा गर्नुका साथै हिमालपारिका सिर्दिवास, बिही, चुम्चेत, छेकम्पार, प्रोक, ल्हो र सामागाउँमा अनुदान रकम कसरी र कहिले वितरण गर्न सकिन्छ तथा घरको डिपिसी सकेका लाभग्राहीलाई कसरी छिटो भन्दा छिटो दोस्रो किस्ताको रकम उपलब्ध गराउनेबारे निर्णय भएको गोरखाका स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले बताए ।

गोरखामा ५४ हजारले निजी आवास बनाउन रकम बुझेको भएपनि करिब तीन हजारको हाराहारीमा मात्रै घर बनाइरहेको बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: