खोटाङमा ट्र्याक्टर दुर्घटना, बालिकाको मृत्यु

खोटाङ, माघ ८। ट्र्याक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा गएराति ना ४ च ५३६७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही स्थानकी आठ वर्षीया बालिका आशा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका अढाई वर्षीय आशिष तामाङ र सहचालक च्यास्मिटार–४ का २५ वर्षीय दिनेश राई गम्भीर घाइते भएका छन् । घाइते दुवैजनाको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि हवाईजहाजमार्फत खानीडाँडा विमानस्थलबाट बाहिर लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

घटनास्थलमै मृत्यु भएकी बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक दिक्तेल नगरपालिका–१० का १९ वर्षीय रञ्जन राई फरार रहेका प्रहरीले जनाएको छ ।

दिक्तेल नगरपालिका–१ स्थित हाटडाँडाबाट ढुङ्गा लिएर लफ्याङ गएको ट्र्याक्टर ढुङ्गा झारी सकेपछि फर्कने क्रममा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । साँघुरो बाटो रहेको सो ठाउँमा ट्र्याक्टर मोड्दा ठाउँ अभावमा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए ।

ट्र्याक्टर सडकबाट करिब दश फिट तल खसेर क्षतिग्रस्त अवस्थामा रहेको स्थानीयले बताएका छन् । सामान लोड गरिने डाला सडकमै रहेको ट्र्याक्टरले मृतकलगायत तीनै जनालाई किचिरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेका थिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: