गोरखा, माघ ८ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनका लागि सरकारले गृहकार्य गर्दै आएको बताएका छन् ।
गोरखा तान्द्राङमा शनिबार कल्याण, राजेश सहिदस्मृति सामुदायिक भवन शिलान्यास गर्दै संविधानमा उल्लेख भएअनुसार ०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्ने बताए । त्यसका लागि आउँदो जेठसम्म स्थानीय तहको निर्वाचनसक्ने गरी सरकार तयारीमा लागेको उनले जानकारी दिए ।
मन्त्री पाण्डेले ‘सहिदको सपना विकास र समृद्धि’ भएको भन्दै सहिदका सपना पूरा गर्न सरकार लागिपरेको बताए । सरकारले शहीदको पना पूरा गर्न संविधान कार्यान्वयन, निर्वाचन र भूकम्पपछिको पुनःनिर्माणलाई पूरा गर्नुपर्नेमा सरकार जुटिरहेको बताए ।
पुनःनिर्माणको काममा सरकार र प्रतिपक्षले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले गाउँ, बस्ती पुनःनिर्माणमा सबैको सहयोग भए मात्रै भूकम्प प्रतिरोधी संरचना निर्माण हुने बताए।
मन्त्री पाण्डेले सरकारले उपलब्ध गराएको अनुदान लिएर धमाधम घर बनाउन सुरु गर्न आग्रह गरे । अनुदान पाउनबाट छुटेका वास्तविक भूकम्पपीडितको गुनासो सम्बोधन गरी अनुदान उपलब्ध गराउने मन्त्रीले प्रतिवद्धता जनाए ।