गोरखा, माघ ८ । गोरखाको बगुवा ४ लामाचौरमा एकीकृत बस्ती निर्माणको शुभारम्भ गरिएको छ ।
‘मिलन बस्ती, एकीकृत बस्ती’को शुक्रबार सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शिलान्यास गरेका हुन् ।
उक्त स्थानमा रहेका केही निजी र केही सरकारी जग्गा एकीकरण गरेर एकीकृत बस्ती बसाउन लागिएको हो । झण्डै २०० रोपनी क्षेत्रफलमा उक्त बस्ती निर्माण गरिनेछ । प्रत्येक घरधुरीलाई करिब ६ आना जग्गा छुट्टयाइएको छ । उक्त एकीकृत बस्तीमा निर्माण गरिने सबै घरहरु एकै प्रकृतिका र भूकम्पप्रतिरोधी हुने हरिनारायण श्रेष्ठले जानकारी दिए ।
उक्त एकीकृत बस्ती बगुवा गाविसका चार गाउँलाई स्थानान्तरण गरिने छ ।
बगुवा गाविसको ४ र ५ नं वडाका रिठ्ठेपानी, धारापानी, नयाँगाउँ र पाण्डेगाउँका १५६ घरधुरीलाई सो एकीकृत बस्ती स्थानान्तरण गरिने मन्त्री पाण्डले जानकारी दिए ।
निजी आवास निर्माण गर्न सरकारले उपलब्ध गराएको अनुदान र स्थानीयको लगानीमा बस्ती विकास गरिने बताइएको छ । विभिन्न छ वटा मार्ग रहेको उक्त एकीकृत बस्तीभित्र बालउद्यान, पौडी पोखरी र सभाहलसमेत निर्माण गरिने छ । एकीकृत बस्तीलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गरिने उहाँको भनाइ छ ।
गत वर्षको ‘गोरखा भूकम्प’बाट बगुवा गाविसका शतप्रतिशत घर ध्वस्त भएका थिए ।
उक्त कार्यक्रममा मन्त्री पाण्डेले फरक भू–बनावट भएको नेपालमा एकीकृत बस्ती विकास गर्नु निकै आवश्यक रहेको बताएका थिए । उनले एकीतृत बस्ती निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।