पम्फा भुसालको रोजाईः जीवन शर्मादेखि दीपाश्री, योगेश भट्टराईदेखि शक्ति गौचनसम्म

वर्षमान पुन अनन्त
मलाई आफ्नै पार्टीका वर्षमान पुन अनन्त मन पर्छ । उहाँमा नेतृत्व क्षमता र राजनीतिक कला छ । छोटो समयमा नै परिपक्व ढंगले विषयवस्तुको गम्भीरता अध्ययन गरेर रायसुझाब दिने तथा निर्णय दिन सक्ने हुनुहुन्छ । युद्धकालमा सैन्यक्षेत्रमा पनि उहाँ असाध्यै राम्रो हुनुहुन्थ्यो । छोटो समयमा पार्टी राजनीतिको सबै पाटो र पक्षलाई बुझ्नुभएको छ । व्यावहारिक हिसाबले समायोजन गर्न सक्ने खुबी उहाँमा छ । पार्टी लाइन र लिडरसिपले खोजेको कुरालाई नै जस्टिफाइ गर्ने उहाँको अर्को विशेषता छ ।
हितमान शाक्य
हितमानजी कुनै पनि विषयवस्तुको गहिराइमा पुग्न मन पराउनुहुन्छ । हरेक विषयको सांगोपांगो, पक्षपाटामा लामो बहस गरेर निष्कर्षमा पुग्न उहाँकोे बानी छ । कतिपय मानिसको बानी पहिले निष्कर्ष दिने र लजिक प्रस्तुत गर्ने हुन्छ, तर हितमानजीमा पहिले लजिक प्रस्तुत गर्ने अनि मात्र निष्कर्ष दिने बानी छ ।
योगेश भट्टराई
विद्यार्थीकालमा योगेशजी मभन्दा जुनियर हुनुहुन्थ्यो । युनिभर्सिटीमा हामी सँगसँगै भए पनि राजनीति, उमेरका हिसाबले पनि उहाँ जुनियर हो । अर्कै पार्टीको भए पनि उहाँको विषयवस्तुको तिखोपना, कडा प्रस्तुति मलाई मन पर्छ । सबैलाई मिलाउन सक्ने, आदर–सम्मान गर्ने बानी छ उहाँको । साथै आफ्नो कुरामा उहाँ दृढ रहनुहुन्छजस्तो लाग्छ ।
गगन थापा
गगन थापा कांग्रेसभित्र पनि नयाँ विचार बोकेका युवा नेता हुन् । राजनीतिक अजेन्डामा उनले आफ्नो पार्टीभन्दा अग्रगामी सोच प्रस्तुत गर्छन् । संवैधानिक राजामै अडिएको नेपाली कांग्रेसको लाइनभन्दा बाहिर रहेर उनी गणतन्त्रको पक्षमा उभिए । पछिल्लो समय राजनीति कति गर्ने रु कति समय गर्ने भन्ने ब्रोडकास्ट गरेका छन् । उनले लिडरसिपबारे बाँचुन्जेल नेतृत्वपंक्तिमै रहनुपर्छ भन्ने परम्परावादी सोचलाई नकारेका छन् । मुलुकको निम्ति केही गरौँ भन्ने नयाँ सोच उनमा रहेकाले मलाई मन पर्ने व्यक्तिमा उनी पनि पर्छन् ।
शक्ति गौचन
क्रिकेटर शक्ति गौचन मलाई मन पर्छ । क्रिकेट नेपालको लागि नयाँ खेल हो । तर, पनि उनले नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । म त्यतिधेरै क्रिकेटप्रेमी त होइन । तर, पनि उनले यस्तो गरे, यति विकेट लिए भन्ने सुन्दा, पढ्दा आनन्द आउँछ । नेपाली क्रिकेटमा उनी पनि एक उत्कृष्ट क्रिकेटर हुन् भन्ने मेरो बुझाइ छ ।
दीपाश्री निरौला
हास्यकलाकार दीपाश्री निरौला मलाई मन पर्ने एक कलाकार हुन् । ‘तितोसत्य’ अहिले त बन्द भएको छ, तर पहिले म त्यो टेलिसिरियल असाध्यै हेर्ने गर्थें । तितो सत्यमा दीपाको प्रस्तुति मन पथ्र्यो । अहिले त उनी कलाकार हुँदै निर्देशकसमेत भइन् । उनको अभिनय कला पनि गज्जबको छ । उनको अभिनयकलामा कुनै कृत्रिमता देख्दिनँ म ।
गौरी मल्ल
गौरी मल्लको कलात्मक प्रस्तुति मलाई मन पर्ने पाटो हो । आउन त कलाकारितामा धेरै मानिस आएका छन् । तर, गौरी मल्लले नेपाली चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा छुट्टै स्थान बनाएकी छिन् । आजभोलि त उनी टिभीमा ‘आमा’ कार्यक्रममार्फत पनि देखिन्छिन् । उनको ‘सिंहदरबार’ टेलिशृंखला पनि आएको थियो क्यारे, केही समयअघि । गौरीजीले पनि अभिनयमार्फत धेरै दर्शक–श्रोताको जस्तै मेरो पनि मन जितेकी छन् । उनका सिनेमाले अनि अभिनयले पनि समाज परिवर्तन तथा महिला हकहित तथा सशक्तीकरणमा महत्वपूर्ण सहयोग पुर्‍याएको मैले महसुस गरेको छु ।
मणि थापा
राजनीतिक हिसाबले पनि उहाँ प्रखर मान्छे । त्यसमाथि उहाँ गीतकार । उहाँको गीतमा सामाजिक यथार्थ पाइन्छ । साथै, परिवर्तनको सन्देश दिने उहाँका गीतहरू छन् । सामाजिक यथार्थता त धेरैले प्रस्तुत गर्लान् रोई–कराई गरेर । तर, उहाँका गीतहरू कालजयी लाग्छ ।
आहुति
आहुतिले सामाजिक यथार्थपरक समस्यालाई राख्नुहुन्छ । परिवर्तनको सन्देश दिनुहुन्छ । दलित मुभमेन्ट हुँदै उहाँले आफूलाई कुशल साहित्यकार र राजनीतिज्ञका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँका लेखरचना पनि मलाई मन पर्छ ।
जीवन शर्मा
जनकलाकार जीवन शर्माको कुशल व्यक्तित्वसँगै उहाँका कालजयी र जनप्रिय गीत उत्तिकै मन लोभ्याउने खालका छन् । परिवर्तनका लागि आममानिसलाई प्रेरित गर्ने, अन्याय, उत्पीडनमा परेका जनतालाई अधिकार खोज्न जागरुक गराउने सन्देश उहाँका गीतहरूमा पाइन्छ । उहाँको स्वरमा मिठासता त छँदै छ । उहाँको बोलीचाली र व्यक्तित्व पनि सादा जीवन उच्च विचारको छ । उहाँले गीतमार्फत मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

याे पनि पढ्नुस  पम्फा भुसाल क्षेत्रमा चुनावी रौनक(हेर्नुहोस् फोटोफिचर)

नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्